काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीको बिक्रीमा लगातार रेकर्ड बनिरहेको छ । पछिल्ला दुई महिनामा लगातार जुलाईमा विश्वको पाँचौ र अगस्टमा चौथो ठूलो उत्पादक बनेको बीवाइडीले सेप्टेम्बरमा पनि निकै राम्रो बिक्री भेट्टाएको छ ।
सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको ९ महिनामा २० लाख ७८ हजार ६३८ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्दै बीवाइडीले आफुलाई कार उत्पादनको नयाँ युगको नेतृत्वकर्ता रहेको प्रमाणित गरेको छ ।
बीवाइडीले सेप्टेम्बर महिनामा मात्रै २ लाख ८४ हजार ४५४ यूनिट कार बिक्री गरेको छ । जुन अगस्ट महिनाको तुलनामा ४.७६ प्रतिशत र अघिल्लो वर्ष सेप्टेम्बरको तुलनामा ४२.८३ प्रतिशतले धेरै हो ।
कम्पनीको कमर्शियल गाडीको बिक्रीमा भने त्यति राम्रो छैन । सेप्टेम्बरमा बीवाइडीले केबल ५११ यूनिट मात्रै कमर्शियल गाडी बिक्री गरेको हो । यद्यपि, अघिल्लो महिना र गत वर्षको सेप्टेम्बर महिनाकोभन्दा राम्रो हो ।
कम्पनीले बिक्री गरेको कार मध्ये १ लाख ५१ हजार १९३ यूनिट पूर्ण इलेक्ट्रीक कार र १ लाख ३५ हजार ७१० यूनिट प्लगइन हाइब्रिड कार रहेका छन् ।

