काठमाडौं । टोयोटाले सन् २०२२ मा विश्व बजारमा उतारेको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी BZ4X मोडल अपग्रेड हुने भएको छ । कम्पनीले अपग्रेड गरिएको BZ4X मोडल लामो ब्याट्री लाइफसहित बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको हो ।
टोयोटाले निकै ढिलोगरी ईभी उत्पादनमा हात हालेको हो । कम्पनीले सन् २०२२ मा २५ हजारभन्दा कम यूनिट मात्रै ईभी उत्पादन र बिक्री गरेको थियो । सन् २०२३ मा १ लाख ५० हजार यूनिट ईभी बिक्री गर्ने लक्ष्य बनाएको छ । जसमा अहिलेसम्म १ लाख यूनिट पुरा हुन लागेको कम्पनीको भनाई छ ।
टोयोटाको ईभी उत्पादनमा लेक्सस ब्राण्ड अगाडि देखिएको छ । साथै, टोयोटा BZ4X पनि राम्रै संख्यामा उत्पादन सुरु भएको छ । टोयोटा मोटर्सले सन् २०२४ मा १ लाख ९० हजार र २०२६ सम्ममा बार्षिक ६ लाख ईभी उत्पादन गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।
डिजाइन
अहिले बजारमा रहेको BZ4X जस्तै डिजाइनमा २०२४ मोडल आउने छ । तर, कम्पनीले नयाँ कलर अप्सन र नयाँ ह्वील दिनेछ । अहिले बजारमा उपलब्ध टोयोटा RAV4को साइजमा उपलब्ध हुने BZ4X कुप्पे डिजाइनमा तयार भएको छ ।

यसको इन्टेरियरमा भने परिवर्तन हुनेछ । कम्पनीले टेक्नोलोजीको आधारमा BZ4Xलाई निकै भरिपूर्ण बनाउने जनाएको छ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, फरक किसिमको इन्ट्रुमेन्ट क्लष्टर र सेन्ट्रल कन्सोलको दिइएको गियरनब निकै ह्याडी देखिन्छ ।
पर्फमेन्स
टोयोटाले आफ्नो कम्प्याक्ट एसयूभीलाई रियर ह्वील ड्राइभ सिस्टममा ल्याएको थियो । तर, नयाँ २०२४ मोडल भने फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आउने छ । यसको सुरुवाती भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर रहने छ ।
BZ4X को टप भेरियन्टमा भने दुई वटा इलेक्ट्रीक मोटर रहने छ । एउटा मोटरको पावर ८० किलोवाट मात्रै भएको कारण दुई मोटरको कम्बाइन पावर १६० किलोवाट हुन्छ ।
कम्पनीले यसको फ्रन्ट ह्वील ड्राइभ भेरियन्टमा ७१.४ किलोवाट आवर र अल ह्वील ड्राइभ भेरियन्टमा ७२.८ किलोवाट आवरको ब्याट्री दिने छ । उक्त ब्याट्रीले १५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ । यसमा ६.६ किलोवाट आवरको एसी चार्जरको प्रयोग पनि गर्न सकिन्छ । एसी चार्जर ९.५ घन्टामा फुल चार्ज गर्छ । डिसी चार्जरले ८० प्रतिशतसम्म चार्ज गर्न ३० मिनेट लगाउँछ ।
यसको फ्रन्ट ह्वील ड्राइभ मोडलले ४१० किलोमिटर र अल ह्वील ड्राइभ मोडलले ३७० किलोमिटर रेन्ज प्रदान गर्छ ।
१० वर्षपछि ९० प्रतिशत रेन्ज ग्यारेन्टी
टोयोटाले यसलाई लामो समय टिक्ने ब्याट्रीमा ल्याउन लागेको छ । कम्पनीले १० वर्षपछि पनि ९० प्रतिशत रेन्ज ग्यारेन्टी गर्ने भएको छ । टोयोटाका चीफ टेक्नोलोजी अफिसर मासाहिको मेडाका अनुसार ब्याट्रीको लामो लाइफमा कम्पनीले काम गरिरहेको छ ।
टोयोटाले आफ्नो पेट्रोलियम पदार्थबाट चल्ने कारको इन्जिनमा जस्तै ब्याट्रीको लामो प्रयोगलाई ध्यानमा दिएको देखिन्छ । कम्पनीका अनुसार टोयोटाका ब्याट्री कम्तीमा २० वर्ष टिकाउ हुनेछन् ।
नेपाल पनि आउने
टोयोटाको BZ4X एसयूभी नेपाल पनि आउने छ । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ BZ4X मोडल सन् २०२४ को अन्त्यसम्ममा नेपाली बजारमा उपलब्ध गराउने तयारी थालेको जनाएको छ ।

