काठमाडौं । जर्मन अटोमोवाइल कम्पनी मर्सिडिज बेन्जले ५०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक ट्रक देखाएको छ । eActros 600 नाम दिइएको उक्त ट्रकले ढुवानीका साधन विद्युतीय बनाउने योजनामा नयाँ मानक स्थापित गर्ने अनुमान गर्न सकिन्छ ।
आगामी वर्षबाट उत्पादन सुरु हुने उक्त ट्रक सफ्ट कर्भ र एरोडायनामिक स्टायलिङ सहितको ‘प्यूरिस्टीक’ डिजाइनमा बनेको हो । एक पटकमा २२ टन भार बहन गर्न सक्ने क्षमता eActros 600 सँग रहेको छ ।
मर्सिडिजले उक्त ट्रकमा तीनवटा लिथियम आयोन फस्फेट व्याट्री प्याक दिएको छ । तीनवटै ब्याट्री मिलाउदा यसको साइज ६२१ किलोवाट आवर हुन्छ । यी ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ट्रकलाई ५०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
मर्सिडिजले यो ट्रकमा रहेका ब्याट्री प्याकले १२ लाख किलोमिटरसम्म यात्रा गर्न सकिने जनाएको छ । १० वर्षपछि पनि उक्त ब्याट्रीको रेन्ज ८० प्रतिशत कायम रहने कम्पनीको दावी छ ।

ट्रकमा नयाँ ८०० भोल्टको इलेक्ट्रीक एक्सेलमा दुईवटा मोटर रहेको छ । उक्त मोटरको पीकपावर ८०५ हर्सपावर छ । यसको चार्जिङ क्यापासिटी ४०० किलोवाट रहेको र कम्पनीले भविष्यमा १००० किलोवाट बनाउने बताएको छ ।
ठूलो चार्जर सपोर्ट गर्ने भएपछि उक्त ट्रकलाई २० वाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३० मिनेट मात्र लाग्ने कम्पनीको भनाइ छ ।

