काठमाडौं । कोभिड १९ संक्रमणपछि बिस्तारै चलायमान हुँदै गएको अटोमोवाइल बजारमा आगामी सन् २०२४ मा झण्डै ९ करोड यूनिट कार बिक्री हुने प्रक्षेपण भएको छ । कोभिड १९ को संक्रमणपछि विश्वभर सेमीकन्डक्टर लगायत सप्लाई चेनमा समस्या आएपछि बिक्री कम भएको थियो ।
‘एस एण्ड भी ग्लोबल मोविलीटी’ले गरेको एक अध्ययन अनुसार विश्वभर साना गाडीको बिक्री आगामी बर्ष २.८ प्रतिशतले वृद्धि हुने देखाएको छ । चालु वर्ष सन् २०२३ मा विश्वभर ८ करोड ६० लाख यूनिट प्यासेन्जर कार बिक्री देखिएको छ । त्यसको २.८ प्रतिशतले वृद्धिसँगै ८ कारोड ८३ लाख यूनिट पुग्ने देखिन्छ । आगामी वर्ष पनि अटोमोवाइलको मुख्य बजारहरु यूरोप, अमेरिका र चीन हुने अनुमान गरिएको छ ।
‘एस एण्ड भी ग्लोबल’का अनुसार आगामी वर्ष यूरोपमा १ करोड ५१ लाख साना गाडी बिक्री हुनेछ । यूरोपियन देशहरुले ईभीमा दिएको सब्सीडी घटाउदै लगेको र अर्थतन्त्र नै मन्दीमा जाने जोखिम भएपनि कारको बजार बढ्ने अनुमान गरिएको हो ।
त्यस्तै आगामी वर्ष अमेरिकी बजारमा १०० भन्दा धेरै ब्याट्री इलेक्ट्रीक ब्राण्डका उत्पादन बिक्रीका लागि उपलब्ध हुनेछ । आगामी वर्ष अमेरिकी बजारमा १ करोड ५९ लाख कार बिक्री हुने प्रक्षेपण छ ।
विश्वको सबैभन्दा ठूलो बजार चीनमा पनि आगामी वर्ष ‘न्यू इनर्जी भेहिकल’को बजार उल्लेखनिय रुपमा बढ्ने अनुमान छ । चीनमा २ करोड ६४ लाख साना गाडी बिक्री हुने र न्यू इनर्जी भेहिकलको हिस्सा हाल रहेको ३६ प्रतिशतबाट बढेर ४४ प्रतिशत पुग्ने प्रक्षेपण रिपोर्टले गरेको छ ।
विश्वमा निजी साधनको माग र बिक्री बढ्ने भएपनि उत्पादन घट्न सक्ने देखिएको रिपोर्टमा उल्लेख छ । सन् २०२३ मा विश्वभर ८ करोड ९८ लाख यूनिट कार उत्पादन भएपनि आगामी वर्ष ८ करोड ९४ लाख यूनिट मात्रै उत्पादन हुन सक्ने अनुषन्धानले देखाएको हो ।
सन् २०२४ मा ब्याट्री इलेक्ट्रीक भेहिकलको हिस्सा भने अहिले जस्तै बढ्दो क्रममै हुनेछ । यस वर्ष करिब १२ प्रतिशत रहेको ईभीको बजार हिस्सा आगामी वर्ष १६.२ प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ ।


