काठमाडौं । कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले २०२४ मा दुई एसयूभी नेपाल ल्याउने तयारी थालेको हो ।
केही दिन अघि मात्रै इलेक्ट्रीक क्रसओभर ईभी-६ बजारमा उतारेको कन्टिनेन्टल ट्रेडिङले नयाँ जेनेरेशन किया निरो र ईभी-५ एसयूभी नेपाल ल्याउन लागेको हो ।
‘हामीले यी दुबै मोडल नेपाल ल्याउन आवश्यक प्रक्रिया थालेका छौं । मार्च, २०२४ सम्ममा परिणाम देखिने छ’, कम्पनी स्रोतले भन्यो ।
कियाले नेपाली बजारमा यसअघि सोल ईभी र निरो ईभी बिक्री गर्दै आएको थियो । तर, सरकारी कर अस्थीर हुँदा यी आयातमा समस्या आएको भन्दै बीचमा सोल र निरो दुबै आयात गरेको थिएन ।
अहिले कम्पनीसँग ईभी-६ क्रसओभर मोडल मात्रै विद्युतीय कारको रुपमा उपलब्ध छ । यसको मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकेर कम्पनीले बिक्री गर्दै आएको छ ।

किया निरो र ईभी-५ दुबै मोडल १ करोडभन्दा कम मूल्यमा नेपाल आउने प्रोडक्ट हुन् । दुबै गाडीमा १०० किलोवाट क्षमताको मोटर रहने छ । त्यसैले कर कम लाग्ने छ ।
यी दुबै मोडलको नेपाल आउने स्पेकका बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर, नेपालमा बढ्लो ईभीको लोकप्रियताको कारण इन्टरनल कम्बस्चन इन्जिन भएका गाडीको बिक्री न्यून हुँदा कम्पनीहरु ईभीमा केन्द्रित भएका हुन् ।

