दुई एसयूभी र सानो इलेक्ट्रीक कारसहित कमब्याक गर्दै रेनो

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले भारतीय बजारमा पुनराआगमनको प्रयास थालेको छ । कुनै समय मासिक १२÷१४ हजार यूनिट कार भारतमा बिक्री हुन थालेको रेनो पछिल्लो दिनमा क्रमशः बिक्री घट्दै जाँदा ब्राण्डको भविष्य नै दक्षिण एसियामा के हुने हो भन्ने अवस्थामा पुगेको थियो ।

अब भने कम्पनीले नयाँ नयाँ मोडलसहित भारतीय बजारमा कम्ब्याक गर्ने तयारी सुरु गरेको छ । यूरोपियन निर्माताले सन् २०२४ मा तीन नयाँ मोडलसहित भारतमा बलियो उपस्थिति जनाउन लागेको होे ।

कम्पनीले ब्राण्डकै सर्वाधिक सफल एसयूभी डस्टरको नयाँ जेनेरेशन मोडल अबको केही महिना भित्रै बजारमा ल्याउने तयारी गरिरहेको छ । यसको ग्लोवल प्रिमियर भने यसअघि नै भइसकेको हो ।

‘सिएमएफ-बी’ मोडुलर प्लेटफर्ममा बनेको नयाँ डस्टर रग्ड डिजाइन, फराकिलो क्याविन र फिचर लाडेड भएर आउने छ । यसमा एडास फिचर समेत प्रयोग हुनेछ ।

कम्पनीले पहिलो पटक डस्टरलाई स्ट्रङ हाइब्रिड र माइल हाइब्रिड पेट्रोल इन्जिनमा ल्याउने छ । त्यसैगरी अर्को मोडल ७ सिट क्षमताको नयाँ एसयूभी हुनेछ । यसलाई पनि डस्टरकै प्लेटफर्ममा बनाइरहेको बताइन्छ । यसमा पनि समान किसिमको इन्जिन र फिचरहरु उपलब्ध हुनेछ ।

रेनोको अर्को मास मार्केट प्रोडक्ट क्वीडको इलेक्ट्रीक भर्सन पनि २०२४ मा नै बजारमा आउने छ । अहिले चल्तीमा रहेको क्वीडकै डिजाइन, बडी र लुक्समा आउने ईभी धेरैले चासो दिएको मोडल हो ।

यी तीन मोडललाई क्रमशः भारतीय बजारमा उतारेर आफ्नो लाइनअप बलियो बनाउने योजना रेनोले अगाडि सारेको हो ।

के होला नेपालमा ?

अहिले नेपालमा इन्टरनल कम्बस्चन इन्जिन भन्दा धेरै ईभीको बिक्री भइरहेको छ । यदि सरकारले करका दरमा ठूलो फेरवदल नगरेको खण्डमा रेनोले भारतमा ल्याउने क्वीड ईभी नेपाली बजारको लागि अर्को गेमचेन्जर मोडल हुन सक्छ ।

यदि पेट्रोल कारको बिक्री केही बढेको खण्डमा डस्टरले नेपाली सडकमा आफ्नो पर्फमेन्स देखाउन सक्छ । समग्रमा अहिलेको सिथिल अवस्थाबाट माथि उठ्न रेनोको नयाँ योजनाले नेपालमा पनि सहयोग गर्नेछ ।


Back_to_top