काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डा मोटर्सले भारत लगायतका एशियाली देशहरुको लागि ईभीको नयाँ प्रोजेक्ट ‘एसीई’ सार्वजनिक गरेको छ ।
कम्पनीले एशियन कम्प्याक्ट इलेक्ट्रीक (एसीई) नाम दिइएको यस योजना अनुसार सन् २०२६ सम्ममा विद्युतीय एसयूभी आउने बताइएको छ । कम्पनीले यस योजनामा वार्षिक १ लाख विद्युतीय कार भारतमा उत्पादन गर्नेछ । यसरी उत्पादन भएका कारहरु ५० देखि ७० प्रतिशत विभिन्न देशमा निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।
होन्डा कार इन्डियाले यसअघि नै सन् २०३० सम्ममा ५ नयाँ एसयूभी बजारमा ल्याउने घोषणा गरेको थियो । त्यसकै एउटा मोडलको रुपमा एलीभेट लन्च भइसकेको छ । प्रोजेक्ट ‘एसीई’ अन्तर्गत पहिलो विद्युतीय एसयूभी पनि एलिभेट नै हुने अनुमान गरिएको छ ।
एलिभेटको कम्प्याक्ट एसयूभी भएको कारण यसको प्रतिस्पर्धा बजारमा अहिले रहेका एक्सयूभी ४००, एमजी जेडएसईभी देखि आउँदै गरेका टाटा कर्भ, हुन्डाई क्रेटा तथा मारुती सुजुकीको इभीएक्ससँग हुनेछ । होन्डाले अन्य जापनीज उत्पादक टोयोटा र सुजुकीले जस्तो हाइब्रिड कार भने भारतमा उत्पादन नगर्ने जनाएको छ ।

