भारतीय ईभी बजारमा टाटाको कब्जा, नेपालमा पनि अगाडि

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटाले सन् २०२३ मा ६९ हजार १५३ यूनिट इलेक्ट्रीक कार भारतमा बिक्री गरेको छ । कम्पनीले नेपालमा सन् २०२३ मा २ हजार हारहारी यूनिट इलेक्ट्रीक कार बिक्री गर्न सफल भएको देखिन्छ ।

नेपाली बजारमा करको संरचनामा परिवर्तन भएसँगै टाटा नेक्सनको बिक्रीमा गिरावट आएपनि टियागो ईभीको आयतसँगै बिक्री विस्तारमा रहज भएको हो । अहिले टाटा, बीवाइडी र एमजी सबैभन्दा धेरै ईभी बिक्री गर्ने कम्पनी हुन् ।

भारतमा भने ईभीमा टाटाको बजार हिस्सा ७० प्रतिशत माथि छ । अझ सन् २०२२ को तुलनामा ६० प्रतिशतले बिक्री बढाउन सफल टाटा २०२४ मा नयाँ मोडलहरु सहित आफुलाई बलियो बनाउने तयारीमा जुटेको देखिन्छ ।

टाटाले सन् २०२२ मा ४३ हजार ४५१ यूनिट ईभी बिक्री गरेको थियो । त्यसबाट बढेर २०२३ मा ६९ हजार १५३ यूनिट पुगेको हो । टाटा मोटर्सको प्यासेन्जर कार उत्पादन र बिक्रीमा ईभीको हिस्सा १२.५५ प्रतिशत पुगेको छ । टाटाले सन् २०२३ मा ५ लाख ५० हजार ८८३ यूनिट प्यासेन्जर कार बिक्री गरेको थियो ।

टाटा मोटर्सले ह्याचव्याक, सेडान तथा कम्प्याक्ट एसयूभी तीनै सेग्मेन्टमा ईभीको बिक्री गर्दै आएको छ । कम्पनीले टियागो, टिगोर तथा नेक्सन तीनै मोडल इलेक्ट्रीक पावरट्रेनमा बिक्री गर्दै आएको हो ।

कम्पनीले निकट भविष्यमा नै माइक्रो एसयूभी पन्च, मिडसाइज एसयूभी ह्यारीयर/सफारी तथा नयाँ मोडलको कर्भ ईभी बजारमा ल्याउँदैछ ।


Back_to_top