इथोपीयाले लगायो पेट्रोल कारमा प्रतिबन्ध

काठमाडौं । इथोपीयाले पेट्रोल कारमा प्रतिबन्ध लगाएको छ । पेट्रोल कारको आयात प्रतिबन्ध लगाएसँगै इथोपीया विश्वकै पहिलो पूर्ण इलेक्ट्रीक कार बिक्री गर्ने देश बनेको हो ।

इथोपीयाको यातायात मन्त्रालयले जनवरी ३० तारिखमा यातायातमा ‘जिरो इमिशन’ प्लान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयात प्रतिबन्ध लगाएको हो ।

सरकारले यो निर्णय लिनुको पछाडि पेट्रोलियम पदार्थ किन्ने डलर संचिति नहुनुलाई मुख्य कारण मानिएको छ । इथोपीया पनि नेपाल जस्तै पेट्रोलियम पदार्थमा पूर्ण परनिर्भर देश हो ।

सरकारको पेट्रोल कार आयात प्रतिवन्ध गर्ने निर्णयसँगै अफ्रिकी मूलूकले यूरोपियनहरुलाई समेत पछाडि पारेको हो । कुन मितिबाट गाडीको आयात पूर्ण प्रतिबन्ध लाग्छ भन्ने विषयमा अहिले केही खुलाईएको छैन । तथापि, इथोपीयन सरकारको यो निर्णयसँगै हुन्डाई, निसान, इसुजु र फक्सवागेन जस्ता पेट्रोल गाडी एमेम्बलीङ गरिरहेका ब्राण्डहरुलाई भने समस्या पर्ने देखिएको छ ।

अहिले इथोपीयाले वार्षिक ६ विलियन डलर पेट्रोलियम पदार्थ आयातमा खर्च गर्दै आएको छ । अब त्यहाँ नविकरणीय उर्जा र विद्युतबाट चल्ने कारहरु मात्रै चलाउने योजना सरकारले अगाडि सारेको हो । त्यसको लागि ईभी इको सिस्टम निर्माण गर्ने घोषणा गरिएको छ ।


Back_to_top