काठमाडौं । नेपाली बजारमा उपलब्ध साना कार मध्ये विलिङ एयर र एमजी कोमेट उस्तै छन् । डिजाइनदेखि हरेक पार्टस् लगभग समान रहेका यी दुई कारमा मूल्य भने ५ लाख रुपैयाँ फरक छ ।
एमजीले भारतमा उत्पादन गरेको कोमेट र विलिङले इन्डोनेशियामा उत्पादन गरेको एयर मोडल नेपाली बजारमा बिक्री हुँदै आएको छ । उत्पादन गर्ने कम्पनी र ब्राण्ड नेम फरक भएपनि यी दुबै कार एउटै हो भन्दा फरक पर्दैन ।
आकार प्रकार तथा लुक्स एउटै भएपनि फरक ब्राण्ड नेम, फरक ब्राण्ड प्रेजेन्स र ब्याट्री साइज पनि फरक पाउन सकिन्छ । मूल्यका हिसावले ५ लाख फरक रहेको दुबैको फरक यहाँ केलाउने प्रयास गरेका छौं ।
मूल्य
यी दुई कारमा सबैभन्दा ठूलो फरक नै मूल्यको हो । एमजी कोमेट प्ले भेरियन्ट (टप भेरियन्ट)को मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेर पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ ।
त्यस्तै विलिङको बिक्रेता ईभी मोटर्स नेपालले विलिङ एयरको टप भेरियन्टको मूल्य २५ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको छ । यी दुई कारको बीचमा ५ लाख मूल्य फरक के कति कारण भयो भन्ने विषय हेरौं ।
साइज एउटै
दुबै कारको लम्बाई समान २९७४ एमएम, चौडाई १५०५ एमएम, उचाई १६४० एमएम छ । ह्वील वेस पनि समान २०१० एमएम रहेको दुबै कारको ग्राउण्ड क्लियरेन्स पनि समान १४५ एमएम छ । ट्रनिङ रेडियस पनि ४.२ मिटर छ ।
साइजको अलावा यी दुबै कारमा समान १४५÷७० साइजको १२ इन्चको ह्वील पाउन सकिन्छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको दुबै कारमा ४ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् ।
ब्याट्री र मोटर पावर
मूल्य ५ लाख फरक पर्ने काम यहाँ ब्याट्रीले गरेको देखिन्छ । कोमेटमा १७.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । त्यहि विलिङ एयरमा २४ किलोवाट आवरको ब्याट्री छ । कोमेटलाई फुल चार्जमा २ सय किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।
रेन्जको विषयमा विलिङ अगाडि छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३०० किलोमिटर चलाउन सकिने कम्पनीले दावी गरेको छ । विलिङ एयरले ७ किलोवाट क्षमतासम्मको चार्जर सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।

दुबै कारमा दिइएको ब्याट्री आइपी ६७ रेटेड हुन् । दुबै कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिएका छन् ।
उलिङ एयर इभीमा ३० किलोवाटको मोटर रहेको छ । उक्त मोटरले अधिकतम ४१ पीएस पावर र ११० न्यूटन मिटर टर्क प्रदान गर्छ । त्यस्तै एमजी कोमेटमा ३१.२६ किलोवाटको मोटर छ । यसले ४२.५ पीएस पावर तथा ११० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । दुबै कारमा रियर माउण्टेड मोटर रहेकोले पफर्मेन्स भने उत्कृष्ट पाउन सकिन्छ ।
सेफ्टी फिचर
दुबै मिनी कारमा अगाडि २ एयरव्याग, एबीएस र इबीडी ब्रेकिङ, आइएसओ फिक्स चाइल्ड सिट, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ क्यामरा र सेन्सर, अटोडोर अनलक अपअन इम्प्याक तथा एन्टीथेफ अलार्म दिइएको छ ।
क्याविन फिचर
यी दुबै कारमा ८ इन्चको टीएफटी डिस्प्ले, मल्टीफङ्नल स्टेरिङ ह्वील, पावर विण्डो, १२ भोल्टको पावर आउटलेट तथा १८ वाटको यूएसवी चार्जिङ पोर्ट, दुईवटा स्पीकर, एयर कण्डिसन, वायरलेस एप्पल प्ले र एन्ड्रोइड अटो सहितको ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिएको छ ।

