काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले प्रिमियम सेग्मेन्टमा नयाँ पीकअप ल्याउने भएको छ । कम्पनीले आफ्नो स्कर्पियो एनमा आधारित पीकअप ल्याउने भएको हो ।
कम्पनीले भारतीय बजारमा ‘स्कर्पियो एक्स’ नामबाट नयाँ ट्रेडमार्क दर्ता गराएसँगै कम्पनीले नयाँ पीकअप ल्याउन लागेको चर्चा सुरु भएको हो । गतवर्ष कम्पनीले अगष्ट १५ तारिखमा साउथ अफ्रिकाबाट स्कर्पियो एनमा आधारित पीकअप पहिलो पटक देखाएको थियो ।
सन् २०२५ मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको स्कर्पियो एनमा आधारित प्रिमियम पीकअपको परिक्षण भारतमा सुरु भइसकेको छ । अहिले यो मोडललाई कम्पनीले ‘जेड१२१’ कोड नेम दिएर उत्पादनको काम गरिरहेको छ ।
‘नेक्सट जेनेरेशन ल्याडर फ्रेम च्यासिस’मा बन्ने पीकअप सुरक्षाको दृष्टिकोणले पनि अब्बल हुने बताइन्छ । कम्पनीले यसमा पनि आफ्नो चर्चित एमहक डिजेल इन्जिन दिने सहजै अनुमान गर्न सकिन्छ ।
महिन्द्रा स्कर्पियो एनले अहिले भारतमा निकै राम्रो बिक्री पाइरहेको छ । नेपाली बजारमा समेत बिक्री वितरण हुँदै आएको स्कर्पियो एन बोल्ड डिजाइन र उत्कृष्ट अफरोड पर्फमेन्सको लागि परिचित रहेको छ ।


