काठमाडौं । किया, बीवाइडी र टेस्लाले नेपालमा बिक्री गर्दै आएको तीन इलेक्ट्रीक कार मूल्यका हिसावले प्रतिस्पर्धी मानिन्छन् । यी तीनवटै ब्राण्डले आफ्नो प्रिमियम कारलाई नेपालमा सार्वजनिक गरेको नयाँ मोडल मान्न सकिन्छ ।
सबैभन्दा पुरानो टेस्ला मोडल थ्री पनि रिफ्रेस मोडल नेपालमा बिक्री सुरु भएको छ । बीवाइडी सिल र किया ईभी सिक्स पनि नेपालको लागि नयाँ मोडल नै हुन् ।
पैसा छ र नयाँ प्रिमियम इलेक्ट्रीक कार खोज्दै हुनुहुन्छ भने तपाईको लागि यी तीन मध्ये कुनै एक मोडल उपयुक्त हुनसक्छ । त्यसले हामीले यी तीन कारका बारेमा यहाँ चर्चा गरेका छौं ।
मूल्य
ईभी सिक्स यी तीन मध्ये सबैभन्दा सस्तो छ । त्यस्तै बीवाइडी सिल प्रिमियमको मूल्य १ करोड ३९ लाख रुपैयाँ र टेस्ला मोडल थ्री रिफ्रेसको मूल्य १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
पावर
फरक ब्राण्डका यी तीन प्रिमियम कारमा रियरह्वील ड्राइभ सिस्टम दिइएको छ । पावरको कुरा गर्दा बीवाइडी सिलको प्रिमियम भेरियन्टमा २३० किलोवाट क्षमताको पावरफुल मोटर छ । यसको पीक टर्क ३६० न्यूटन मिटर छ । यो कारले जम्मा ५.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा स्पीडमा दौडीन सक्छ भने यसको टपस्पीड १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

टेस्लाले मोडल थ्रीमा १९८ किलोवाटको मोटर दिएको छ । यसले ४२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । टेस्ला मोडल थ्रीले ६.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्न सक्छ । यसको टपस्पीड २२५ किलोमिटर प्रतिघन्टा छ ।
कियाको क्रसओभर ईभी–६मा १६८ किलोवाटको मोटर छ । यसको पीक टर्क ३५० न्यूटन मिटर छ । ईभी सिक्सले ७.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्न सक्छ । यसको टपस्पीड १८५ किलोमिटर प्रतिघन्टासम्म छ ।
रेन्ज
ठूलो ब्याट्री र मूल्य धेरैसँगै ब्याट्रीको हिसावले पनि बीवाइडी सिल नै ठूलो छ । सिलमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री छ । बीवाइडी सिलले एक पटकको फुल चार्जमा ५७० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।

टेस्ला मोडल ३ मा ५७.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यो कारलाई एक पटकको फुल चार्जमा ४०० किालोमिटरसम्म गुडाउन सकिन्छ ।
किया ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसलाई एक पटकाको फुल चार्जमा ५२८ किलोमिटरसम्म चलाउन सकिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।

