सस्ता ह्याचव्याक ईभीमा तिब्र प्रतिस्पर्धा, थपिदै नयाँ ब्राण्ड

काठमाडौं । विद्युतीय ह्याचव्याकमा टाटा टियागोको प्रबेशसँगै सेग्मेन्टकै बिक्रीलाई यसले नयाँ उचाईमा पुर्यायो । सस्तो मूल्यमा आएको टाटा टियागोको बिक्रीले पाएको उछालसँगै यो सेग्मेन्टमा एकपछि अर्को नयाँ प्रतिस्पर्धी तयार भएको देखिन्छ ।

अहिले टाटासँगै प्रतिस्पर्धा गर्नेगरी चिनियाँ कम्पनी लिप मोटर्सको खुद्रा बिक्री मूल्य सार्वजनिक भएको छ । त्यस्तै लगभग उस्तै मूल्य तर फिचरले भरिपूर्ण भएर विलिङको बिङ्गो ह्याचव्याक नेपाल आउँदै छ । कम्पनीले सुरुवाती खुद्रा बिक्री मूल्य ३२ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेको थियो ।

यही सेग्मेन्टमा नामी ब्राण्डको ह्याचव्याक कार पनि नेपाल आउँदैछ । नामी–०१ नामबाट आउने यो ह्याचव्याक फिचरको हिसावले बजारमा उपलब्ध इलेक्ट्रीक एसयूभीलाई टक्कर दिने किसिमको देखिन्छ ।

बीवाइडीको मिनी डल्फीन नामले चर्चित सिगल पनि चाँडै नेपाल आउन सक्ने मोडल हो । आधिकारीक वितरक साइमेक्स इंकले एकिन जानकारी बाहिर नल्याएपनि भित्र भित्रै यसको आयात प्रक्रिया सुरु भएको अनुमान गरिएको छ ।

यी कारका अलावा साना ह्याचव्याकमा हेनरी, एमजी कोमेट, विलिङ एयर, सेरेस ई–वान जस्ता कारहरु पनि बजारमा छन् । यी साना कारले पनि ग्राहकलाई निरन्तर आकर्षित गरिरहेको देखिन्छ ।

अझै चीनबाट नयाँ नयाँ ब्राण्ड नेपाल आउने क्रममा देखिन्छ । त्यसैले नयाँ ब्राण्डसँगै अहिले बजारमा रहेका ब्राण्डले पनि साना ह्याचव्याक कार ल्याउने छन् । बजारमै रहेको चांगान लुमिन ईभी पनि चाँडै नेपाली बजारमा आउने छ ।

बजारमा भएका र आउन लागेका विद्युतीय ह्याचव्याक कारहरुले सिंगल चार्जमा १६० देखि ३०० किलोमिटरसम्म सहजै रेन्ज दिने भएको कारण पनि उपभोक्ताको आकर्षण देखिन्छ । साथै, मूल्य पनि १५/१६ लाखदेखि ३०/३२ लाखसम्म पर्ने भएको कारण औषत आम्दानी हुने मानिसको पहुँचमा यस्ता कार पुगेका छन् ।


Back_to_top