भारतमै उत्पादन हुने भयो ‘ज्यागुअर ल्याण्ड रोभर’

काठमाडौं । विश्व चर्चित कार निर्माता ज्यागुअर ल्याण्ड रोभरले भारतमा कार उत्पादन गर्ने भएको छ । टाटा मोटर्सको स्वामित्वमा रहेको ज्यागुअर ल्याण्ड रोभरले भारतमा ९ हजार करोड भारतीय रुपैयाँ लगानी गरेर ईभी उत्पादन गर्ने भएको हो ।

टाटा मोटर्स र तामिलनाडु सरकार बीच ईभी प्लान्ट लगाउने विषयमा एक सम्झौता भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार पहिलो फेजमा २ लाख यूनिट कार उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट बन्ने छ ।

कम्पनीले इलेक्ट्रीफाइड मोडुलर आर्किटेक्चर (इएमए) प्लेटफर्मको प्रयोग गरेर ईभी उत्पादन गर्नेछ । नयाँ प्लान्टको २ लाख यूनिट क्षमता मध्ये टाटाले ७५ प्रतिशत र ज्यागुअर ल्याण्ड रोभरले २५ प्रतिशत प्रयोग गर्ने जनाइएको छ ।

ज्यागुअर ल्याण्ड रोभरले भारतमा पेट्रोलियम पदार्थबाट चल्ने कार पनि उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले सन् २०२५ को अन्तिमबाट भारतमा बन्ने प्लान्टबाट उत्पादन सुरु गर्ने योजनासहित काम अगाडि बढाएको बताइन्छ ।


Back_to_top