एक वर्षमा एउटै मोटरसाइकल नेपाल ल्याउन नसक्ने ब्राण्डहरु

काठमाडौं । एक वर्षमा कुनै ब्राण्डले एउटा पनि मोटरसाइकल आयात गर्न सकेन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । सन् २०२३ मा नेपालमा विक्री भइरहेका ६ ब्रान्डले एक यूनिट पनि मोटरसाइकल आयात गर्न सकेनन् ।

मोटरसाइकल बिक्रीमा आएको गिरावटसँगै आधा दर्जन ब्रान्डको आयात शून्य भएका हो । नेपालमा विक्री हुने गरेको धेरै जसो प्रिमियम ब्रान्डले २०२३ मा मोटरसाइकल ल्याउन सकेनन् ।

नेपालमा विक्री भइरहेका हिरो, हस्कभर्ना, जावा, बेनेली, बीएमडब्लू, हार्ले डेभिडशन् र एरोमा ब्रान्ड आयात गरेको देखिदैन । यसका अलावा नेपालमा बिक्री भइरहेका टारो तथा मोटरहेडका मोटरसाइकल पनि २०२३ मा आयात भएनन् ।

डिलरशिप नविकरण विवादका कारण हिरोको मोटरसाइकल सन् २०२३ नेपाल नआएको हो । नेपाल जनरल मार्केटिङले आयात गर्दै आएको हिरो मोटरसाइकल अब सिजी ग्रुपले बिक्री सुरू गर्ने भएको छ ।

त्यस्तै आइएमई ग्रुपले अर्डरका आधारमा ल्याउँदै आएको हार्ले डेभिड्सन मोटरसाइकल पनि २०२३ मा आयात भएन । अहिले कम्पनीको शोरुमसमेत बन्द भइसकेको छ ।

हंशराज हुलाश चन्द्र एण्ड कम्पनीले अयाता तथा बिक्री गर्दै आएको हस्कभर्ना मोटरसाइकल माग नभएका कारण २०२३ मा आयात नगरेको कम्पनीको भनाइ छ ।

जावा मोटरसाइकल बिक्री गर्ने कम्पनी अग्नि मोटोइंकले येज्दीका मोटरसाइकल ल्याउन सुरु गरेसँगै जावाको आयात शून्य भएको हो । कम्पनीले येज्दी मोटरसाइकल भने २०२३ मा ७२ यूनिट आयात गरेको देखिन्छ ।

त्यस्तै २०२३ मा मोटरसाइकल आयात गर्न नसक्ने कम्पनीमा बीएमडब्ल्लू र बेनेली छन् । यी दुबै कम्पनीले २०२३ मा १ यूनिट मोटरसाइकलसमेत आयात गरेनन् । त्यसैगरी, डर्ट बाइक आयात गर्ने आरोग्य ग्रुपले आयात गरको एरोमा मोटरसाइकल पनि २०२३ मा आयात हुन सकेन ।

माथि उल्लेखित कुनैपनि कम्पनीले २०२४ फेब्रुअरीसम्ममा मोटरसाइकल आयात गर्न नसकेको तथ्याङ्कले देखाउँछ । यी प्रायः कम्पनीलेहरूले अहिले भारी छुटमा स्टकमा रहेका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।


Back_to_top