पहिलो दिन नै ९ जनालाई दिएर सुरू भयो स्काइवेलको बिक्री

काठमाडौं । जी मोटर्सले नयाँ विद्युतीय कार ब्राण्ड स्काइवेलका उत्पादन बिक्री सुरु गरेको छ । भदौ अन्तिममा नै नेपाल ल्याउने घोषणा भएको स्काइवेल ईटी फाइभको आधिकारीक बिक्री सुरु भएको हो ।

कम्पनीले आज बिक्री सुरु गर्दा नै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण गरेर प्रिमियम सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति रहने प्रमाण पेश गरेको थियो । स्काइवेल ईटी फाइभ मूल्य, ब्याट्री र मोटरको आधारमा प्रिमियम एसयूभी मान्न सकिन्छ ।

आधिकारीक बिक्रीको सुरुवात र शोरुम लन्चिङ कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो बिक्री सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कैलाश गेलालले भने, ‘म आफैँले ४ हजार किलोमिटरभन्दा बढी चलाएर परिक्षण गरेको छु । परिक्षणमा पर्फमेन्स, लग्जरी, रेन्ज लगायतका विषय अब्बल पाएसँगै बिक्री सुरु गरेका हौं ।’

स्काइवेलले यो एसयूभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर पाउन सकिन्छ । चिनियाँ एनक्याप टेष्टमा ५ स्टार रेटिङ पाएको ईटी-५ मा आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

‘सुरक्षाको हिसावले उत्कृष्ट बनेको छ । अहिले जर्मनी, रसिया लगायत ६० देशमा स्काइवेल बिक्री सुरु भएको छ । चाँडै बेलायत, अष्ट्रेलिया लगायतका देशमा बिक्री सुरु गर्दैछौं । हामीलाई विश्वास छ नेपालमा यसले निकै राम्रो बजार पाउने छ’, स्काइवेल इन्टनेशनल बिजनेशका भाइस प्रेसिडेन्ट थोमश जुले भने ।


Back_to_top