काठमाडौं । विद्युतीय कार उत्पादनमा खासै जाँगर नचलाएको जापानी अटो जाइन्ट टोयोटाले ‘बीजेडथ्रसी’ मोडलको प्रोटोटाइप कार देखाएको छ । कम्पनीले देखाएको नयाँ कन्सेप्ट निकै जाँगर चलाएर बनाएको प्रस्टै हुन्छ ।
चाइना अटो शो २०२४ मा प्रदर्शन गरिएको ‘बीजेडथ्रीसी’ एक स्पोर्टस् क्रसओभर एसयूभी हो । यसको कन्सेप्ट अघिल्लो वर्ष २०२३ मा भएको सांघाई अटो शोमा देखाइएको थियो ।
अहिले देखाएको प्रोडक्सन मोडल सन् २०२५ को सुरुवातबाटै बजारमा आउने टोयोटाले जनाएको छ । कम्पनीले स्पोर्टी क्रसओभरको अगाडिको भाग निकै आकर्षक बनाएको छ । सी आकारको लाइट, पृथक बोनेट र निकै फराकिलो कार भएको कारण झट्ट हेर्दा नै लोभलाग्दो देखिन्छ ।
टोयोटा प्रियस कारको केही फिचर यसमा प्रयोग भएको बताइन्छ । लो-ड्रयाग अलोय ह्वील र फ्लस डोर ह्याण्डलको प्रयोग भएको कारण रोडमा यसले अलगै प्रभाव पार्न सक्ने देखिन्छ ।

एम्बीयन्ट लाइट, आधुनिक क्याविन डिजाइन, लेटेष्ट प्रविधि पाउन सकिने बीजेडथ्रीसीमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम र डिजिटल क्लष्टर पाउन सकिन्छ । यसलाई चीनमा एफएडब्लू टोयोटाले बनाएको हो ।
टोयोटाले यसमा प्रयोग भएको ब्याट्री र मोटर साइजका विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, कम्पनीले ल्याएको यो कार निकै उत्कृष्ट डिजाइनमा देख्न सकिन्छ ।


