काठमाडौं । अहिले बजारमा हटकेक मोडल बन्दै गएको ओमोडा ई-५ लाई हामीले काठमाडौंदेखि झापा हुँदै विराटनगरसम्म चलाएका थियौं । झण्डै ७०० किलोमिटर यात्रा गरेपछि हामीले यसको रेन्ज सिंगल चार्जमा ४२७ किलोमिटर पाएका थियौं ।
कुप्पे डिजाइन भएको कारण यसको भित्र हेडरुम केही कम महशूस हुन्छ । तर, यो डिजाइन मनपराउनेलाई पर्फेक्ट लाग्छ । सुरूमा ५९ लाख ४९ हजार मूल्य तोकेर बिक्री सुरू भएको एसयूभीको मूल्य बढेर ६१ लाख ९९ हजार रुपैयाँ भएको छ ।
एसपीजी अटोमोबाइलले बिक्री वितरण गर्दै आएको ओमोडा सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । एडास फिचरदेखि सुरक्षाका लागि आवश्यक धेरै फिचर समावेस भएको ओमोडा नेपालमा बीवाइडीपछि ब्लेड ब्याट्री भएको पहिलो मोडल भएको कारणले पनि चर्चामा छ ।
चीनमा उत्पादकले ओमोडा ई-५ लाई पानीमा डुबाएर समेत परीक्षण गरेको थियो । तर, उक्त परीक्षण भने हामीले नेपालमा गरेनौं । सुरक्षाको हिसाबले पनि यस्ता किसिमका परीक्षण यहाँ गर्नु उपयुक्त हुँदैन ।
अण्डरबडी स्क्रापिङ परीक्षण पनि पास गरेको कारण धेरैले सुरक्षामा ओमोडा ई-५ लाई अब्बल मानेका हुन् । १८० एमएम ग्राउन्ड क्लियरेन्स भएको एसयूभीलाई कम्पनीले बडीको तल्लो भागमा हुनसक्ने सम्भावित ठक्कर चेक गर्न २१० एमएम उचाइको फलामे पोष्टमा पार गराएको थियो । यस्ता डरलाग्दा परीक्षण भने हामीले गरेनौं ।


