काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोवाइल निर्माता मारुती सुजुकीले नयाँ स्वीफ्ट केही दिन भित्रै बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ जेनेरेशन स्वीफ्ट आगामी बिहिवारबाट बिक्री सुरु गर्न लागेको हो ।
सुजुकीले गत वर्ष टोकियो अटो शोमा प्रदर्शन गरेको नयाँ स्वीफ्टमा साइज पनि परिवर्तन भएर आउन लागेको छ । कम्पनीले यसको लम्बाई र चौडाई नै परिवर्तन गरेको हो ।
साइजमा मात्रै भएर यसको इन्टेरियर र एक्सटेरियरमा पनि धेरै परिवर्तन पाउन सकिन्छ । पछिल्लो समय भारतमा कार सुरक्षामा ठूलो बहस हुन थालेसँगै कम्पनीले सेफ्टी फिचर समेत थपेर ल्याएको हो ।
नयाँ स्वीफ्टमा कम्पनीले नयाँ इन्जिन प्रयोग गरेको कारण माइलेजमा समेत वृद्धि भएको छ । यस्तोमा नयाँ जेनेरेशन स्वीफ्टमा भएका मूख्य ५ परिवर्तन निम्नअनुसार छन् ।
बाहिरी बनोट र साइज
झट्ट हेर्दा डिजाइनमा नदेखिए पनि नयाँ जेनेरेशन स्वीफ्ट पहिलेको भन्दा सार्प डिजाइनमा तयार भएको छ । फ्रन्टमा नयाँ बम्पर, नयाँ डिजाइनको ग्रिल र बम्परको माथि दिइएको लोगोले कारको लुक्स नै परिवर्तन गरेको देखिन्छ ।
नयाँ डिजाइनको हेडल्याम्प र फगल्याम्पले गाडीलाई थप आकर्षक बनाएको छ । साइडमा नयाँ डिजाइनको सोल्डर लाइन र नयाँ अलोय ह्वीलको कारण रोड प्रेजेन्स थप आकर्षक भएको छ ।
पछाडि दिइएको नयाँ डिजाइनको सी सेप टेलल्याम्प, टेलगेटमा माउण्ट भएको रियर क्यामरा तथा बम्पर डिजाइन समेत नयाँ पाउन सकिन्छ ।
नयाँ स्वीफ्ट पूरानोभन्दा १५ एमएम लामो र ३० एमएम थप अग्लो भएको छ । चौडाई भने ४० एमएमले कम गरिएको छ । ह्वीलवेस भने पहिलाको जस्तै २४५० एमएम पाउन सकिन्छ ।
नयाँ इन्टेरियर डिजाइन
हालै देखिएको स्पाई सटहरुका अनुसार यसको क्यावीन पनि फ्रङ्स, बलेनो र ब्रेजाको जस्तै परिमार्जन भएको देखिन्छ । नयाँ स्वीफ्टको ड्यासबोर्डमा फ्लोटीङ इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ ।

नयाँ सर्कुलर सेपको एचभीएसी नव तथा अपडेटेड इन्ट्रुमेन्टल क्लस्टर यसमा पाउन सकिन्छ । नयाँ स्वीफ्टमा ड्यासबोर्डको डिजाइनका साथै फेब्रीकहरुमा पनि परिवर्तन भएको छ ।
टेक प्याक
नयाँ स्वीफ्टमा धेरै थरिका आधुनिक टेक्नोलोजी थपिएको छ । यसमा वायरलेस फोन चार्जर, रियर एसी भेन्ट, एलईडी फग ल्याम्प, कनेक्टेड टेकसहितको ९ इन्चको टचस्कृन पाउन सकिन्छ ।
यसमा क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट÷स्टप, स्टेरिङ माउन्टेड कन्ट्रोल, इलेक्ट्रीक एड्जस्टेवल आईआरभीएम रहेको छ ।
आधुनिक सेफ्टी फिचरहरु
नयाँ स्वीफ्टमा अब ६ वटा एयरव्याग स्ट्याण्डर्ड फिचरको रुपमा उपलब्ध हुनेछ । यसका सबै भेरियन्टमा इलेक्ट्रोनीक्स स्टेबीलीटी कन्ट्रोल (इएससी) र हिल स्टार्ट असिस्ट पनि अनिवार्य भएको छ ।
नयाँ इन्जिन र बढी माइलेज
नयाँ जेनेरेशन स्वीफ्टमा थ्री सिलिण्डर १.२ लिटर, जेड १२ई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ हर्सपावर र ११२ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । तर, अहिले प्रयोग भएको के सिरिज इन्जिनभन्दा कम पावर हो ।
मारुती सुजुकीका अनुसार स्वीफ्टको माइलेज पनि उल्लेखनिय रुपमा सुध्रेको छ । नयाँ स्वीफ्टले एआरएआईका अनुसार २५.७ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । थर्ड जेनेरेशन मोडलभन्दा ३ किलोमिटर बढी हो ।

