होन्डाको नयाँ एसयूभी ‘पासपोर्ट’, हिउँदेखि हिलोसम्म सबै ठाउँको लागि उपयुक्त

जापानी अटो निर्माता कम्पनी होन्डाले आफ्नो नयाँ एसयूभी आगामी वर्ष सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ एसयूभी ‘पासपोर्ट’ लाई २०१९ मा बजारमा ल्याउने तयारी गरेको हो । 

कम्पनीकाअनुसार यो नेमप्लेटलाई कम्पनीले सन् १९९३–२००२ मा प्रयोग गरेको थियो । कम्पनीले आफ्नो नयाँ एसयूभी सीआर–भीभन्दा ठूलो र एग्रेसिभ हुने बताएको छ भने, यसमा कम्पनीको अरू मोडलकोभन्दा फरक डिजाइन प्रयोग गरिनेछ । 

नयाँ पासपोर्टमा अन–रोड र अफ–रोड दुवैमा चल्नसक्ने क्षमता हुनेछ । होन्डा पासपोर्टको ग्रीलमा ब्ल्याक–फिनिश गरिएको छ । यसमा २० इन्च अलोए–ह्वील, ड्यूल एक्हस्ट–पाइप, क्रोम–टिप्स, एलईडी हेडल्याम्प र टेलल्याम्प, ब्ल्याकइन्ड रुफ–रेल, स्लोपिङ्ग रुफलाइन, इन्टीग्रेटेड स्पोइलरलगायतका फिचरहरू समावेश गरिनेछन् । 

यसको इन्टेरियरमा ७ इन्च इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रीपल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, मल्टीफङ्शनल स्टेरिङ्ग–ह्वीललगायतका फिचरहरू उपलब्ध छन् । साथै, यसको ईएक्स–एल भेरियन्टमा ८ इन्च डिस्प्ले अडियो, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, होमलिङ्क, रिभर्स क्यामेरा, लेदर–सिटलगायतका फिचरहरू रहने छन् । 

होन्डा पासपोर्टमा ३.५ लिटर भी–६ इन्जिन दिइने छ । जसले २८० एचपी पावर र ३५४ एनएम–टर्क उत्पादन गर्नेछ । यसमा नाइन–स्पीड अटोमेटिक ट्रान्समिसन दिइने छ । 

कम्पनीको ग्लोबल लाइट ट्रक प्लेटफर्ममा निर्माण गरेको पासपोर्ट अल–ह्वील ड्राइभ सिस्टममा आउने अनुमान गरिएको छ । कम्पनीले गाडीलाई नर्मल, स्यान्ड, स्नो, मडजस्ता ड्राइभिङ्ग मोडकासाथै इन्टेलिजेन्ट ट्र्याक्सन म्यानेजमेन्ट सिस्टमलगायतका फिचरहरू दिने अनुमान गरिएको छ । 


Back_to_top