मासिक १४ हजार किस्ता तिरे पुग्ने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारमा सरकारले २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत कर्जा सुविधा दिएको छ । जति धेरै कर्जा उतिनै धेरै ब्याज तिर्नु पर्ने भएकोले सकभर धेरै डाउन पेमेन्ट गरेर कार किन्दा मासिक किस्ता पनि कम पर्न जान्छ ।

अहिले एउटा पेट्रोल कारले मासिक उपत्यकामा यात्रा गर्दा पनि १२ देखि १५ हजारको पेट्रोल हाल्नु पर्छ । तर, विद्युतीय कार एमजी कोमेट किन्दा मासिक १४ हजार किस्ता तिर्ने गरी नै लिन सकिन्छ ।

एमजीले कोमेट नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ब्याट्री, मोटर लगायत समान साइजमा उपलब्ध कोमेटको इन्टेरियरमा भने परिवर्तन पाउन सकिन्छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत भन्सार वृद्धि र अन्तःशुल्क लगाएको भएपनि कम्पनीले मूल्य परिवर्तन नगर्ने भएको छ ।

‘बजेटले कर वृद्धि गरेपनि कोमेटको मूल्य तत्काल नबढाउने निर्णय भएको छ । सहरी क्षेत्रको लागि निकै उपयोगी र किफायती कोमेट अहिलेसम्म बजारमा २०० भन्दा बढी यूनिट बिक्री भइसकेको छ’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले मेरोअटोसँग भने ।

कोमेटको इन्ट्री भेरियन्टको मूल्य १७ लाख ९९ हजार र टप भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको इन्ट्री भेरियन्ट किन्नेले ५० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्ने हो भने मासिक १४ हजार ७०० रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

गाडीको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउँदा ८ लाख ९९ हजार ५०० रुपैयाँ सुरुमा तिर्नु पर्छ । अहिले बैंकहरुले ९.५ प्रतिशत भित्रै अटो कर्जा उपलब्ध गराउँदै आएको छ । कर्जा अवधि पनि ७ वर्षको पायने भएको कारण गाडी किन्ने मानिसले पेट्रोल कारमा पेट्रोल हाल्ने पैसा मासिक किस्ता बुझाउँदा पुग्छ ।

पृथक डिजाइनमा तयार भएको एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । सिंगल चार्जमा २०० किलोमिटर सहजै यात्रा गर्न सकिने कोमेटमा ४ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् ।


Back_to_top