लिथियम ब्याट्री कारखानामा भीषण आगलागी,कम्तीमा २२ कामदारको मृत्यु

काठमाडौं । दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा कम्तीमा २२ कामदारको मृत्यु भएको छ। मृतकमध्ये १८ जना चिनियाँ नागरिक भएको स्थानीय अग्निनियन्त्रण निकायले जनाएको छ।

अरू आठ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर भएको बताइएको छ।

ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा सोमबार बिहान आगो लागेको थियो। उक्त कारखानाबाट लिथियम ब्याट्री उत्पादन हुँदै आएको छ।

घटनास्थल राजधानी सोलबाट ४५ किलोमिटिर दक्षिणमा पर्छ। सोलस्थित नेपाली दूतावासले उक्त घटनामा नेपाली परेको जानकारी अहिलेसम्म प्राप्त नभएको जनाएको छ।

‘हामीले त्यसबारे बुझ्न दूतावासबाट कर्मचारी पठाएका छौँ,’ नेपाली नियोगका उपप्रमुख पुष्पराज भट्टराईले बताए।

स्थानीय टेलिभिजनमा प्रसारित एउटा दृश्यमा अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गर्दा ससाना विस्फोटन भएको देखिन्छ। दक्षिण कोरियालाई लिथिअम ब्याट्रीको उत्पादनमा अग्रणी मानिन्छ। त्यस्तो ब्याट्रीको प्रयोग विद्युतीय सवारीसाधनदेखि ल्याप्टपसम्ममा हुन्छ।

स्थानीय टेलिभिजनमा प्रसारित एउटा दृश्यमा अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गर्दा ससाना विस्फोटन भएको देखिएको छ

कसरी लाग्यो आगो
आगलागीको कारण अझै थाहा भइसकेको छैन। अधिकारीहरूले आगलागीको कारणबारे छानबिन सुरु भएको जनाएका छन्।अधिकारीहरूका अनुसार प्रत्यक्षदर्शीहरूले आगलागी भएकै समयमा कारखानाको दोस्रो तल्लामा शृङ्खलाबद्ध विस्फोटन भएको सुनेका थिए।

स्थानीय अग्निनियन्त्रण निकायका अधिकारी किम जि-यूङले “फेरि विस्फोटन हुने डरले” अग्निनियन्त्रकहरूलाई कारखानाभित्र जान समस्या परेको बताए। एकपछि अर्को गरेर ब्याट्रीहरू पड्किन थालेपछि आगो चाँडै फैलिएको उनले बताए।

लिथिअम ब्याट्रीमा कसरी आगो लाग्छ
पानीले लिथिअममा सल्किएको आगो निभाउन नसक्ने भएकाले अग्निनियन्त्रकहरूले सुक्खा बालुवा प्रयोग गरेर आग्नो नियन्त्रण गरेका थिए। त्यसका लागि कैयौँ घण्टा लागेको थियो।

लिथिअम ब्याटरीमा क्षति पुगेको छ वा धेरै तातो भएको छ भने विस्फोटन हुने सम्भावना हुन्छ। तत्कालका लागि आगो निभे पनि नदेखिने गरी हुने रासायनिक प्रतिक्रियाका कारण फेरि आगो फैलिने सम्भावना हुन्छ।

उद्धारकार्य जारी
आगो लाग्दा कारखानामा झन्डै १०० कामदार थिए। अधिकारीहरूले खोज तथा उद्धारकार्य जारी रहेको बताएका छन्। एरिसेल कारखाना भएको भवनको दोस्रो तलामा झन्डै ३५,००० वटा ब्याटरीहरू थिए। उक्त तल्लामा ब्याटरीको जाँच र प्याकेजिङ गरिन्थ्यो। उक्त कारखानाको भण्डार अन्यत्र पनि छ। -बीबीसीबाट


Back_to_top