भारतमा बिक्दै बिक्दैनन् विद्युतीय कार

काठमाडौं । छिमेकी भारतमा विद्युतीय कार बजार निरन्तर ओरालो लागिरहेको छ । सन् २०२४ लागेसँगै एशियाका धेरै देशमा ईभी बिक्री निरन्तर बढी रहेको भएपनि भारतमा भने निरन्तर ओरालो लागेको हो ।

गत जुन महिनामा ३ लाख ४० हजार यूनिट कार बिक्री भएको भारतमा विद्युतीय कारको बिक्री केबल ६ हजार ८९४ यूनिट बिक्री भएको थियो । जुन महिनाभर भारतमा कुल कार बिक्री मध्ये ईभीको हिस्सा केबल २ प्रतिशत मात्रै रहेको देखिन्छ ।

मे महिनाको तुलनामा पनि जुन महिनामा ईभीको बिक्रीमा गिरावट आएको हो । मे २०२४ मा कम्पनीहरुले ७ हजार ९७१ यूनिट विद्युतीय गाडी बिक्री गरेका थिए । एक महिनाको तथ्यांक अनुसार १३.५१ प्रतिशतले ईभी बिक्री घटेको हो ।

गत महिना भारतमा सबैभन्दा धेरै ईभी टाटाले बिक्री गरेको छ । टाटाले पन्च, नेक्सन, टियागो र टिगोर ईभी मिलाएर ४ हजार ३४६ यूनिट बिक्री गरेको छ । अघिल्लो मे महिनाको तुलनामा टाटाको बिक्रीमा २०.७७ प्रतिशतले गिरावट आएको हो । कम्पनीले मे महिनामा ५ हजार ४८५ यूनिट बिक्री गरेको थियो ।

दोस्रो स्थानमा रहेको एमजीले कोमेट र जेडएस ईभी बिक्री गर्दै आएको छ । एमजीले जुन महिनामा १ हजार ४०५ यूनिट कार बिक्री गरेको छ । ४४६ यूनिटसहित तेस्रो स्थानमा महिन्द्रा रहँदा चौथो स्थान रहेको सिट्रोनले २३६ यूनिट बिक्री गरेको छ ।

गत जुन महिनामा पाँचौ धेरै ईभी बिक्री गर्ने बीवाइडी बनेको छ । कम्पनीले २२९ यूनिट ईभी बिक्री गर्दा छैटौ स्थानको हुन्डाईले ६१ यूनिट आयोनीक-५ बिक्री गरेको देखिन्छ । ५० यूनिट बिक्रीसहित सातौं स्थानमा बीएम्डब्लू परेको छ ।

मर्सिडिज, भोल्भो, किया र अउडीले क्रमशः ४१, ४१, १५ र १५ यूनिट बिक्री गर्न सफल भएका छन् ।


Back_to_top