कुपे डिजाइनका ३ एसयूभी आउँदै, कुन मोडलमा कस्ता फिचर

काठमाडौं । अहिले बजारमा कुपे डिजाइनको एसयूभी खोज्नेलाई एक मात्र विकल्प ओमोडा ई-५ रहेको छ । यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्न चाँडै थप तीन नयाँ मोडल बजारमा आउन लागेका हुन् ।

अहिले बजारमा उपलब्ध ओमोडा ई-५ चीनमा उत्पादन भएको कार हो । बजारमा आउने क्रममा रहेका ३ नयाँ कुपे एसयूभी भारतमा उत्पादन भएर आउने छन् । यी तीन वटै मोडल सन् २०२५ मा बजारमा आउने तयारी गरिरहेका छन् ।

कुपे डिजाइन एसयूभी निर्माणमा भारतीय दुई ब्राण्ड टाटा र महिन्द्रा लागि परेका छन् । यी दुबै ब्राण्डले कुपे डिजाइन एसयूभी तयार गरिरहेका छन् । जसमा टाटाले कर्भ एसयूभी ल्याउने छ । महिन्द्राको ई-०९ र सिट्रोनको बसाल्ट कुपे डिजाइनमा आउने छ ।

टाटा कर्भ एसयूभी

अबको १९ दिनपछि बजारमा आउन लागेको टाटा कर्भ पेट्रोल र इलेक्ट्रीक दुबै अप्सनमा उपलब्ध हुने बताइएको छ । सुरुमा यसको ईभी बजारमा आउने भएको कारण नेपाली बजारको लागि पनि कर्भ चासो पूर्ण मोडल हो । कम्पनीले यसमा रहने ब्याट्री साइज र मोटर साइजका बारेमा कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।

सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने बताइएको कर्भ ईभी आधुनिक फिचरले भरिपूर्ण रहने बताइएको छ । यसमा एडास फिचरदेखि स्पोर्टी इन्टेरियरसम्म पाउन सकिने रिपोर्टहरुले दावी गरेका छन् ।

सिट्रोन बसाल्ट

फ्रेन्च कार निर्माताले उत्पादन सुरु गरिसकेको बसाल्ट मोडल पनि अर्को महिना बजारमा आउने बताइन्छ । भारतमा उत्पादन हुने बसाल्ट सुरुमा पेट्रोल इन्जिनमा र त्यसको ६ महिनापछि इलेक्ट्रीकमा आउने छ ।

कम्पनीले यसमा रहने १.२ लिटर थ्री सिलिण्डर इन्जिनको बारेमा जानकारी दिएपनि इलेक्ट्रीक भर्सनको विषयमा कुनै जानकारी दिएको छैन । फ्रेन्च निर्माताले यसमा पनि आधुनिक फिचरको लामै लिष्ट दिने तयारी गरेको बुझिन्छ ।

महिन्द्रा एक्सयूभी ई-९

महिन्द्राको पहिलो कुपे डिजाइनमा तयार हुँदै गरेको एक्सयूभी ई–९ बजारमा नआउँदै धेरै चर्चा भएको मोडल हो । सन् २०२५ को सुरुवातमै बजारमा आउने ई-९ महिन्द्राको इनग्लो स्केडबोर्ड प्लेटफर्ममा तयार भएको हो ।

यसको रेन्ज पनि ५०० किलोमिटर हाराहारी रहने बताइए पनि टेक्नीकल डिटेल भने अहिलेसम्म कम्पनीले बाहिर ल्याएको छैन ।


Back_to_top