काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकामा तीनवटा पुलहरू निर्माण गरिरहेको छ । तर, तोकिएको समयसिमा समाप्त हुँदा पुल निर्माणको काम भने आधा पनि भएको छैन । यस्तोमा ठेकेदार कम्पनीहरूले समय थपका लागि आवेदन दिएका छन् ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर विश्व विजयलाल श्रेष्ठकाअनुसार बिजुली बजारको धोबीखोला पुल, तिनकुने नजिकैको बागमती पुल र बुढानिलकण्ठको बिष्णुमती पुल आयोजनाले निर्माण गरिरहेको छ ।
अरनिको राजमार्गअन्तर्गत निर्माणाधीन धोबीखोला पुलको कार्यप्रगति निराशाजनक रहेको छ । कुल ५० मिटर लम्बाई रहेको, उक्त पुल निर्माणको जिम्मा ठेकेदार कम्पनी जेई कन्ट्रक्सनले पाएको थियो । १२ करोड ८१ लाख ४८ हजार कुल लागमा ठेक्का सम्झौता भएकोमा हालसम्म ७ करोड १९ लाख २९ हजार रुपैयाँ खर्च भएको छ ।
निर्माण व्यवसायी कम्पनीले पुल निर्माणका लागि समय थप्न माग गर्दै निवेदन दिइसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
वि.सं. २०७१ पुस १३ गते भएको ठेक्का सम्झौताअनुसार उक्त पुल अबको १० दिनभित्र (२०७५ पुस १३) गते सम्पन्न हुनुपर्ने थियो । आयोजनाकाअनुसार हालसम्म यसको प्रगति जम्मा ४५ प्रतिशतमात्रै भएको छ ।
उता, अरनिको राजमार्गमै पर्ने अर्को निर्माणाधीन अवस्थामा रहेको बागमती पुलको हालत त्योभन्दा कमजोर रहेको छ । पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ भित्रमा सम्पन्न गर्ने गरी वि.सं २०७१ पुस ४ गतेबाट यो पुल निर्माण गरिरहेको थियो ।
आयोजनाकाअनुसार कुल ८५ मिटर लम्बाईमा रहेको उक्त पुल निर्माणका लागि २१ करोड ३३ हजार रुपैयाँ लागमा निर्माण सम्झौता भएकोमा अहिलेसम्म ६ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च गर्दा २० प्रतिशतमात्रै सम्पन्न भएको छ ।
त्यस्तै, काठमाडौंको बुढानिलकण्ठमा पनि सडक विस्तार आयोजनाले पुल निर्माण गरिरहेको छ । निर्माणाधीन अवस्थामा रहेको विष्णुमती पुलको कार्य ठिकै गतिमा अघि बढिरहेको छ । २ करोड ४३ लाख ११ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुलमा अहिलेसम्म १ करोड ६२ लाख तीन हजार रुपैयाँ खर्च भैसकेको छ ।
कुल १८ मिटर लम्बाईमा रहको उक्त पुल निर्माणको काम हालसम्म जम्मा ६० प्रतिशतमात्रै सम्पन्न भएको छ । वि.सं. २०७२ असोज १७ गतेबाट रोशन–प्रेजा जेभीले उक्त पुल निर्माणकोे काम सुरु गरेको थियो भने यसको समयसिमा २०७५ असार १० सम्ममात्रै रहेको थियो ।
यस कारण पाे ढिलाई ?
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर विश्व विजयलाल श्रेष्ठकाअनुसार विशेष डिजाइनमा निर्माण हुन लागेको यी पुलहरूको डिजाइन स्वीकृतिमा ढिलाई भएको थियो ।
‘डिजाइन स्वीकृतिमा समय लागेकाले यी पुलहरूको निर्माण नै ढिला सुरु भएको हो’, इन्जिनियर श्रेष्ठले मेरोअटोसँग भने ।
पछि निर्माणकार्य सुरु भएसँगै त्यहाँ रहेका खानेपानीका पाइप तथा बिजुलीका तारहरूको उचित व्यवस्थापन समयमै नभएका कारण पनि काममा समस्या आएको उनले दाबी गरे ।
धोबीखोलाको पुलमा अहिले डाउनस्ट्रिमतर्फको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने अपस्ट्रीमतर्फको पुल निर्माण छिट्टै सुरु हुने जनाइएको छ ।
त्यस्तै, बागमती खोलाको पुलको भने अपस्ट्रीम र सब–स्ट्रक्चर निर्माणको काम सकिएको छ । इन्जिनियर श्रेष्ठकाअनुसार सो पुलमा अहिले डाउनस्ट्रीमतर्फ पिलिङ्गको काम भैरहेको छ ।
निर्माण व्यवसायी कम्पनीले पुल निर्माणका लागि समय थप्न माग गर्दै निवेदन दिइसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।


