काठमाडौं । चिनियाँ कार निर्माताहरूले आफ्नो उत्पादन संसारभर फैलाउन रणनीति निर्माण गरिरहेका छन् । अमेरिका र युरोपले चिनियाँ उत्पादनमा थप कर लगाएसँगै उनीहरू स्थानीय साझेदार खोज्न थालेका छन् ।
चीनकै सबैभन्दा ठूलो कर निर्माता एसएआइसी ग्रुप, बीवाइडी, चेरी, जिली, चांगान जस्ता ब्राण्डले युरोप, अफ्रिका र अमेरिकामा स्थानीय साझेदार खोजिरहेका छन् । त्यसमा चिनियाँ स्टार्टअप कम्पनी नै खरिद गरेर अन्य देशका ठूला कार निर्माताहरू चिनियाँ टेक्नोलोजीसँग नजिक बन्न खोजी रहेका छन् ।
युरोपका ठूला कार निर्माता फक्सवागेन समूह, स्टेलान्टिस, जापानी कम्पनी टोयोटादेखि अमेरिकी कम्पनी जनरल मोटर्ससम्मले चिनियाँ कार उत्पादकसँग संयुक्त लगानीदेखि टेक्नोलोजी सेयरिङ गर्नेसम्मका विषयमा सम्झौता गरेका छन् ।
यसरी आक्रमक रणनीति तय गरेको चिनियाँ कार निर्माताहरू भारतमा थप लगानी गर्न भने इच्छुक देखिएका छैनन् । सन् २०२० मा भएको गलवान हमलापछि भारत र चीन बीचको सम्बन्ध राम्रो छैन । दुवै देशका सेना बीच त्यहाँ भिडन्त भएको थियो ।
चिनियाँ उत्पादक एसएआइसी ग्रुपको लगानीमा एमजीका कार भारतमा उत्पादन हुँदै आएका छन् । तर, उक्त ग्रुपलाई पनि भारत सरकारले सहयोग नगरेको बताइन्छ । सन् २०२२ मा एमजी मोटर्स इन्डियामा ‘वित्तीय अनियमित्ता’ भएको भन्दै भारत सरकारले हस्तक्षप गरेको बुल्मवर्गको रिपोर्टमा उल्लेख छ ।
अहिले एमजी इन्डियामा भारतीय व्यवसायिक समूह जिन्दाल ग्रुपको प्रवेश भएको छ । यसलाई एमजीले स्थानीय साझेदार लिएर विस्तारै भारतबाट बाहिर निस्कने राणनीति बनाएको बुझेका छन् ।
चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले पनि कार उत्पाकहरूलाई विश्वभर एसेम्बली प्लाण्ट लगाउन र त्यसमा स्थानीय उत्पादनसँगै नकडाउन किट निर्यात गरेर अगाडि बढ्न सुझाएको छ । त्यही अनुसार कम्पनीहरूले आफ्नो रणनीति बनाउँदै छन् ।
चिनियाँ कम्पनीहरू इन्डोनेशिया, थाइल्याण्ड, स्पेन, ब्राजिल जस्ता देशमा आफ्नो उत्पादन प्लान्ट बनाउन तयार छन् । तर, विश्वकै ठूलो मध्येको एक मानिने अटो बजार भारतमा लगानी थप्न तयार छैनन् ।

