कहाँबाट सुरू भयो इलेक्ट्रीक कारमा प्राइसवार ?

काठमाडौं । एकाएक विद्युतीय कारको मूल्यमा ६ लाख रुपैयाँसम्मले छुट आयो । एमजीले आफ्नो सर्वाधिक सफल मोडल जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँमा छुट दिएर ४६ लाख ९९ हजार रुपैयाँ बनायो । यसले बजारमा ठूलै तरङ्ग ल्यायो ।

एमजीको साइड इफेक्ट सेरेसमा देखियो । सेरेस-थ्री इलेक्ट्रीक मोडलको मूल्यमा पनि ४ लाख रुपैयाँले छुट दियो । यसअघि ५२ लाख ९९ हजारमा बिक्री हुँदै आएको सेरेस थ्रीको टप भेरियन्ट अब ४८ लाख ९९ हजारमा किन्न पाइने भयो । यी दुवै कम्पनीले आफ्नो अधिकतम् खुद्रा बिक्री मूल्य भने घटाएका होइनन् ।

दुवै कम्पनीले मूल्य घटाउनुको पछाडि विविध कारण होलान्, तर केई एक्सथ्री प्रो मोडलको मूल्य ४८ लाख ९६ हजार कायम भएर बिक्री हुने भएसँगै एमजी र सेरेसले अफरभन्दै मूल्यमा छुट दिएका हुन् ।

लगभग एउटै सेग्मेन्टमा उपलब्ध एमजी जेडएस ईभी, सेरेस थ्री र केई एक्सथ्री प्रो मोडलमा फिचरहरू पनि उस्तै छन् । एमजीजेड बजारमा निकै सफल एसयूभी हो । सेरेसले पनि एक वर्षको अवधिमा ३०० भन्दा बढी एसयूभी बिक्री गरिसकेको छ । तर, केई एक्सथ्री प्रो मोडल भने बजारको लागि विल्कुलै नयाँ मोडल हो ।

केईले १२० किलोवाट क्षमताको मोटरमा एक्सथ्री प्रो मोडल ल्याएसँगै ९९ किलोवाटका मोटर भएका दुवै एसयूभीलाई दवाव पर्ने आँकल गरिएको समयमा नै अफर प्राइस भन्दै दुवैले केई कै हाराहारी मूल्यमा आफ्ना उत्पादन ल्याएका हुन् । यसले इलेक्ट्रीक एसयूभी किन्ने उपभोक्तालाई भने निकै राम्रो अवसर प्रदान गरेको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा चलेको प्रतिस्पर्धा प्रिमियम सेग्मेटसम्म पुग्यो । प्रिमियम सेग्मेन्टमा उपलब्ध जिकर एक्सदेखि एक्सपेङ जी-६ सम्मले उपभोक्तालाई छुट घोषणा गरे । लिप मोटर्सले प्रतिस्पर्धी मूल्यमा सी-१० सार्वजनिक गर्दा दीपलले एस-०७ को मूल्यमा ३ लाख रुपैयाँ छुटको अफर गर्यो । ओमोडादेखि नयाँ जेको जे-६ सम्म किन्ने उपभोक्ताले नगद छुट पाए । यसले समग्र अटो बजारमा उपभोक्तालाई राम्रो मूल्य अफर गरेको देखिन्छ ।


Back_to_top