काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले आफ्नो बहुप्रतिक्षित रोबोट्याक्सी सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकामा आयोजना भएको ‘वि-रोबोट’ कार्यक्रममा उक्त ट्याक्सी सार्वजनिक गरेको हो ।
अमेरिकामा रोबोट्याक्सी नयाँ भने होइन । यसअघि हुन्डाईले आयोनीक-५ लाई पनि रोबोट्याक्सीको रुपमा चलाई सकेको छ । हुन्डाई आयोनीक-५ले अमेरिकी ड्राइभिङ परीक्षा पास गरेर लाइसेन्स लिएको थियो ।
टेस्लाका सीईओ इलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्ट फिचर युक्त रोबोट्याक्सी सार्वजनिक गरेसँगै यसले संसारभर चर्चा पाएको छ । चालक बिहिन उक्त ट्याक्सी दुई सिट क्षमताको हुनेछ ।
चालक नचाहिने भएसँगै कारमा स्टेरिङ ह्वील र पेडल दुवै रहने छैनन् । यसको मूल्य पनि ३० हजार डलरभन्दा कम नै राखेर बिक्री गर्ने योजना सीईओ मस्कले सार्वजनिक गरे । सन् २०२७ बाट यसको ब्यापक प्रयोग हुने उनको भनाइ थियो ।
टेस्लाले यसअघि नै वायरलेस चार्जरको पेटेन्ट दर्ता गराएको थियो । कम्पनीले यसलाई चलाउन लाग्ने खर्च पनि बाहिर ल्याएको छ । कम्पनीका अनुसार यसलाई चलाउन प्रति माईल २० सेन्ट खर्च हुन्छ ।
टेस्लाले सेल्फ ड्राइभिङ ट्याक्सी छुट्टै ब्यवसाय संचालन गर्ने गर्ने योजना अगाडि बढाएको छ । यसलाई किन्ने मानिसले कारलाई पार्ट टाइम ट्याक्सीको रुपमा प्रयोग गर्न सक्छन् । यसले गाडीको आम्दानी बढ्ने र मानिसले अतिरिक्त आम्दानी गर्न सक्ने बताइएको छ ।
रोबोट्याक्सीको ड्यास बोर्डमा ठूलो स्कृन पाउन सकिन्छ । अगाडि एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर हेडल्याम्प र साइडमा बटरफ्लाई विङ डोर दिइएको छ । यसको कम्बीनेशनले कारलाई फ्युचरिस्टिक बनाएको छ ।


