काठमाडौं । दशैं अगाडि परेको अविरल वर्षा र त्यसपछि सृजना भएको प्रकृतिक विपत्तिको असर सबैभन्दा धेरै दुई कार ब्राण्डलाई पर्यो । बढीले सबैभन्दा धेरै प्रभावित पारेको ब्राण्ड डोङफेङ नामी र लीप मोटर्स हो ।
नाडा अटो शो २०२४ मा सर्वाधिक बुकिङ भएको मध्ये एक नामीले दशैं अगाडि कम्तीमा २०० यूनिट ग्राहकलाई हस्तान्त्रण गर्ने योजना बनाएको थियो । तर, वर्षाले सडक र पुल बगाउँदा नामीका कार काठमाडौं आइपुग्न सकेन । अहिले नेपाल आइरहेका कारहरु बीच बाटोमै अड्केका छन् ।
ठ्याक्कै त्यस्तै अवस्था लीप मोटर्सको एसयूभी सी-१० पनि देखियो । सी-१० नाडा अटो शोमा धेरै बुकिङ भएको थियो । मूल्य, फिचर र साइजको बेजोड समिश्रण रहेको सी-१० एसयूभी १०० यूनिट दशैं अगाडि डेलिभरी गर्ने योजना आधिकारीक बिक्रेताले बनाएको थियो । तर, गाडी नै आउन सकेन । अहिले बोर्डर पारी सी-१० बाटो खुल्ने पर्खाइमा बसेका छन् ।

यी दुबै गाडी तातोपानी भन्सार नाका हुँदै नेपाल आइरहेका थिए । नेपालतर्फको भूभागमा बाढी पहिरोको प्रकोपले दुई वटा पुल नै ध्वस्त बनाएसँगै आवतजावत रोकिएको थियो । दशैं अगाडि बाटो खुलाउन धेरै प्रयास भएपनि नसकिएको सरोकारवालहरुको भनाइ छ ।
अझै कहिले बाटो खुल्ने हो भन्ने एकिन छैन । बाटोमा अहिले पनि ठूला पहिरो छन् । पुल निर्माण हुन सकेको छैन । सकभर तिहार अगाडि बाटो खुलाउने गरी काम भइरहेको सडक विभागको भनाइ छ ।
नाडा अटो शो २०२४ मा सर्वाधिक चर्चामा रहेको यी दुई मोडलले दशैंमा बिक्री गुमाएका छन् । तर, बुकिङकर्ताले पनि प्राकृतिक विपत्ती बुझेको कारण आफ्नो ग्राहक नै गुमाएका भने छैनन् ।

