काठमाडौं । तिहार अगाडि नै सकभर बुकिङ खुला गर्ने गरी पारामाउन्ट मोटर्सले विन्डसरको लागि तयारी गरिरहेको छ । कम्पनीले भारतमा उत्पादन भएको एमजी विन्डसर नेपालमा बिक्री थाल्ने तयारी गरेको हो ।
एमजी कोमेटपछि विन्डसर भारतबाट आयात गरेर बिक्री सुरु गर्ने योजना बनाएको कम्पनीले यसलाई एमजी–फोरभन्दा तल राखेर बिक्री गर्न लागेको हो ।
‘अहिल्यै ठ्याक्कै मूल्य कति पर्छ एकिन भन्न सकिदैन । तर, एमजी फोरभन्दा मूनी राखेर यसलाई बिक्री गर्ने हो’, पारामाउन्ट मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले आधिकारीक जानकारी नदिएपनि यसको मूल्य ४० लाखभन्दा कम हुने पक्कापक्की जस्तै छ ।
एमजी इन्डियाले भारतमा अक्टोबर ३ मा बुकिङ खुला गरेको थियो । पहिलो दिन नै १५ हजार १७६ यूनिट विन्डसर ईभी बुकिङ भएसँगै यसलाई भारतमा ईभीले एकै दिन पाएको रेकर्ड बुकिङ मानिन्छ । अहिले यसको डेलिभरी सुरु भइसकेको छ ।
एमजीले विन्डसरको डिजाइनलाई ‘एरोग्लाइड डिजाइन’ भनेको छ । यसमा ठूला एसयूभीको जस्तै १८ इन्चको डायमण्ड कट अलोय ह्वील, फ्लस डोर ह्याण्डल र इलुमुनेटेड एमजीको लोगो प्रयोग गरिएको छ ।
यसमा १८६ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कारको लम्बाई ४२९५ एमएम र उचाई १६७७ एमएम छ ।
नेपालको लागि अर्को गज्जबको कुरा विन्डसर इलेक्ट्रीकमा १०० किलोवाटको मोटर छ । पावर टु वेइट रेसियो रिसर्च एण्ड डेभलपमेन्ट अनुसार नै भएको कारण यसको पर्फमेन्स उत्कृष्ट रहने अनुमान गर्न सकिन्छ । एमजीले विन्डसरमा ३८ किलोवाट आवरको ब्याट्री दिएको छ । ब्याट्रीलाई फुलचार्ज गरेर ३३२ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
सिल प्लाष्टिकको प्रयोगबाट बनेको ड्यासबोर्ड, स्पेयर टायर, पछाडि बस्नेलाई पनि इन्टरटेन्टमेन्ट युनिट, ड्यासबोर्ड अर्गनाइजर, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर यसमा उपलब्ध छ । यसका अलावा ९ वटा स्पीकर, आफ्नो सहजता अनुसार ६०ः४० मा ढल्काउन मिल्ने सिटले युवा ग्राहक तान्ने छ ।

नाइट ब्ल्याक कलरमा यसको इन्टेरियर, लेदर सिट, एम्बियन्ट लाइट, एलइडी ल्याम्प र पीएम २.५ फिल्टर दिइएको छ ।
यसको अगाडिको डिजाइन पनि पृथक छ । ठूलो भिजन रुफ, ढोकाहरूमा प्रयोग भएको क्रोम फिनिसिङ, प्रोजेक्टर एलइडी हेडल्याम्प र पछाडि स्मार्टफलो एलइडी टेलल्याम्प दिइएको छ ।
अर्को महत्पूर्ण कुरा ग्राउन्ड क्लियरेन्स हो । यसमा १८६ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कारको लम्बाई ४२९५ एमएम र उचाई १६७७ एमएम छ ।
सुरक्षाको लागि विन्डसर ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट एसिस्ट र हिल डिसेन्ट कन्ट्रोल छ । ३६० डिग्री क्यामेरा, रियर पार्किङ क्यामेर र सेन्सर दिइएको छ । साथै, चारवटै चक्कामा डिस्क ब्रेक, अटो होल्डदेखि इलेक्ट्रीक पार्किङ ब्रेकसम्म पाउन सकिन्छ ।

