काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल क्षेत्रको ध्यान यतिबेला विद्युतीय सवारी साधनको उत्पादनमा केन्द्रित भएको छ । क्रमिक रुपमा विस्तार भैरहेको नेपाली बजारमा समेत विद्युतीय सवारी साधनको माग बढिरहेको देखिन्छ ।
अटोमोबाइल्स क्षेत्रमा निक्कै अब्बल बनेको भारत संसारकै चारवटा ठूला कार उत्पादक तथा प्रयोगकर्ता भएको देश हो । अहिले यी सबै कम्पनीहरु नयाँ योजनाका साथ, इलेक्ट्रीक कार उत्पादनमा केन्द्रित भएका छन् ।
नयाँ वर्ष २०१९को सुरुवातसँगै अटोकम्पनीहरुले नयाँ उत्पादनको योजना बनाइसकेका छन् । भारत सरकारले सन् २०२० अप्रिल एकबाट नयाँ इमिशन मापदन्ड तथा २०१९ अप्रिल एकबाट नयाँ सुरक्षा नीति कार्यन्वयन गर्ने तयारी गरेसँगै कम्पनीले आफ्नो उत्पादनलाई शिराबाट अगाडि बढ्ने लक्ष्य लिएका छन् ।
यो वर्ष बजारमा आउने ह्याचब्याक, सेडान, एसयुभी तथा प्रिमियम मोडल यस प्रकार रहेका छन् ।
रेनो क्वीड इभी
रेनो कम्पनीले चिनीयाँ बजारका लागि निर्माण गरिरहेको क्वीड इभी भारतीय र नेपाली बजारमा समेत बिक्री वितरण गर्ने भएको छ । कम्पनीले यही वर्षबाट बिक्री सुरु गर्ने भएको यो ह्याचब्याक कम्पनीकोे निक्कै प्रतिक्षित कार हो ।
महिन्द्रा केयुभी १००
महिन्द्राले यही वर्ष इलेक्ट्रीक कार केयुभी १०० बजारमा ल्याउने तयारी गरेको छ । महिन्द्रा ईटुओ तथा ई–भेरिटो पश्चात् कम्पनीले यो मोडल बजारमा ल्याउने भएको हो । कम्पनीले यो मोडललाई २०१८ मा आयोजित अटो एक्स्पोमा समेत प्रदर्शन गरेको थियो ।
महिन्द्रा एक्सयुभी ५०० ईभी
महिन्द्राले सार्वजनिक गर्ने भएको अर्काे इभी एक्सयुभी ५०० पनि यही वर्ष बजारमा आउने छ । एसयूभी सेग्मेन्टमा महिन्द्रको पहिलो इलेक्ट्रीक गाडी बन्ने यो निकै प्रिमियम गाडी हुनेछ ।
टाटा टियागो इभी
साथै टाटा मोटर्सले चर्चित ह्याचब्याक टियागोको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा ८५ किलोवाटको इलेक्ट्रीक मोटर लगाइएको छ, यसले २०० एनएम टर्क जेनेरेट गर्नेछ । यसको टप स्पीड क्षमता १३५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

