नामीको बिक्रीले लियो रफ्तार, अहिलेसम्म कतिले किने ?

काठमाडौं । एमएडब्लू वृद्धिले नाडा अटो शो २०२४ मा बुकिङ लिएको नामी-बक्स कार बाटोको कारण दशैंमा नेपाल आउन सकेन । चीनबाट नेपाल आउने केरुङ र तातोपानी दुबै नाका बन्द हुँदा तिहारपछि मात्रै नामी नेपाल आयो ।

दशैं अगाडि ३० यूनिट मात्रै उपलब्ध भएको नामी इलेक्ट्रीक ह्याचव्याक तिहारपछि राम्रो संख्यामा आयात भइरहेको छ । अहिले कम्पनीले बीच बाटोमा अड्केको सबै गाडी काठमाडौं ल्याएको हो ।

‘अहिलेसम्म हामीले २०४ युनिट नामी ल्याएर ग्राहक र डिलरलाई दिएका छौं । अझै राम्रो संख्यामा बुकिङ रहेको कारण थप गाडी ल्याउँदै छौं । हाम्रो अपेक्षा अनुसार ग्राहकले गाडी लगिरहनु भएको छ’, नामीको बिजनेश हेड प्रसन्न पन्तले भने ।

चिनियाँ ब्राण्ड डोङफेङ नामी विभिन्न तीन भेरियन्ट नेपालमा उपलब्ध छ । यसको ई-१ भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई-२ को मूल्य ३२ लाख ९९ हजार र ई-३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ छ ।

नेपाल आउने चर्चा सुरु भएदेखि नै नामी ह्याचब्याक कार आफ्नो लुक्स, फिचर, मूल्य र रेन्जको कारण चर्चामा थियो । चार मिटर लामो नामी ‘टल ह्याच’ मोडल हो । यसको पछाडिको भाग एसयूभी सो-सरह अग्लो छ । बडीको साइड प्यानल पनि निकै स्टाइलिस र मोर्डन बनाउन भरपुर कोसिस गरेको देखिन्छ ।

एलइडी डीआरएल सहितको प्रोजेक्टर हेडल्याम्प, क्लोजअफ ग्रिल, तल्लो भागमा दिइएको एयर ड्याम लगायतका फिचर निकै आकर्षक छन् । साथमा दिइएको १७ इन्चको ह्वील, फ्रेमलेस डोर र फ्लस डोर ह्याण्डल यसको अर्को बलियो पक्ष हो ।

नामीको अर्को बलियो पक्ष इन्टेरियर हो । गाडीको ढोका खोल्नासाथ मेमोरी सहितको सिटले नै तपाईंलाई स्वागत गर्छ । आफैँ सर्छ र बस्न सजिलो बनाउँछ ।

लेदर सिट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र टु स्पोक स्टेरिङ ह्वीलको कम्बिनेशन उत्कृष्ट छ । ड्युल कलर ड्यासबोर्ड, ३२ कलरको एम्बियन्ट लाइट र सेन्टर कन्सोलको बनोटले नामीको क्याबिन उत्कृष्ट फिल दिन सक्षम छ ।

आधुनिक फिचरमा गनिने एडास २.० फिचर तपाईंले यसमा पाउनु हुन्छ । साथै, ३६० डिग्री क्यामेरा, अटो होल्ड लगयातका फिचरले चालकलाई निकै सहज बनाएको छ । यसलाई तपाईं नर्मल, ईको र स्पोर्टस् मोडमा चलाउन सक्नु हुन्छ ।

चिनियाँ एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको नामीमा दुई एयरब्याग दिइएको छ । यसमा दिइएको भेहिकल स्टेबिलिटी एसिस्टेन्ससँग ईबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेबलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल लगायत फिचरले गाडी सुरक्षीत छ ।

एमएडब्ल्यू वृद्धिका अनुसार नामी ई-वान र ई-टुलाई सानो ३१.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध गराएको छ । तर, टप भेरियन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री छ ।

सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ । ठूलो ब्याट्रीले सिंगल चार्जमा ३१७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा ७० किलोवाटको मोटर पाउन सकिन्छ ।


Back_to_top