काठमाडौं । नेपाली बजारमा दुईपाँग्रे सवारी स्कुटरको बिक्री बढ्दै गएको छ । स्कुटरको प्रयोग बढेसँगै बजारमा अहिले पेट्रोल र विद्युती दुवै स्कुटरको बिक्री पनि बढेको हो ।
नेपाली स्कुटर बजारमा अहिले २ दर्जन बढी ब्राण्डका स्कुटर बिक्री हुँदै आएका छन् । १०० सीसीदेखि १५० सीसीका स्कुटर बजारमा उपलब्ध छन् । जसमा १२५ सीसी सेग्मेन्ट धेरै बिक्री हुन्छ ।
१२५ सीसी सेग्मेन्टमा तीन कम्पनी बीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपालमा सर्वाधिक बिक्री हुने स्कुटरहरू डिओ, रेजेडआर र एनटर्क बीच कडा प्रतिस्पर्धा देखिएको हो ।
कात्तिकमा १२५ सीसी सेग्मेन्टमा यामाहाको रेजेडआर सबैभन्दा धेरै आयात भएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले कात्तिकमा मात्रै यामाहा रे-जेडआर १२५ स्कुटर १ हजार ७२० युनिट आयात गरेको छ ।

त्यस्तै, दोस्रो स्थानमा होण्डा रहेको छ । होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १ हजार ४९५ युनिट डिओ स्कुटर नेपाल ल्याएको छ ।
कुनै बेला हटकेट बनेको एनटर्कको बिक्री भने खस्कँदै गएको छ । विगतमा एनटर्क सबैभन्दा कम समयमा १ लाख युनिटको माइलस्टोन पूरा गर्ने स्कुटर समेत बनेको थियो । कात्तिकमा धेरै बिक्री हुने स्कुटरमा एनटर्क तेस्रो स्थानमा पुगेको छ । एनटर्कको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कात्तिकमा १ हजार २०० युनिट एनटर्क १२५ आयात गरेको छ । जगदम्बा मोटर्सले ५ भेरियन्टमा बिक्री गर्दै आएको छ । यसको सुरूवाती मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँदेखि ३ लाख २५ हजार ९०० रुपैयाँसम्म रहेको छ ।

स्याकार ट्रेडिङले डिओ १२५ र बीएस ६ डिओ नेपाली बजारमा बिक्री सुरू गरेसँगै एनटर्कको बिक्रीमा कमी आएको हो । कात्तिमा मात्र डिओ ११० स्कुटरको आयात २ हजार १९५ युनिट रहेको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर डिओ ११०/१२५ कार्तिक महिनामा कुल ३ हनार ६९० युनिट आयात भएको छ । होण्डा डिओ १२५ को दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध हुँदै आएको छ । यसको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ र ३ लाख १९ हजार ९०० रुपैयाँ छ ।
पछिल्लो समय यामाहाले रेजेडआर १२५ को बिक्रीमा राम्रो सुधार ल्याएको देखिन्छ । एनटर्क नेपालमा सार्वजनिक भएसँगै छायाँमा परेको रेजेडआर अहिले १२५ सीसी सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर बन्न सफल भएको हो ।

यामाहाले रे जेडआर १२५ को तीन भेरियन्ट बिक्री गर्दै आएको छ । यसको सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँदेखि ३ लाख २८ हजार ९०० रुपैयाँसम्म छ ।

