७ दिनपछि बजारमा आउँदै ‘आइकार भी-२३’ इलेक्ट्रीक अफरोड एसयूभी

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरीले आफ्नो आइकार ब्राण्डमा भी-२३ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । डिसेम्बर १६ तारिखदेखि चीनमा बिक्री सुरू हुन लागेको आइकार भी-२३ एउटा प्योर अफरोड एसयूभी हो ।

चीनमा निकै सस्तो मूल्यमा सार्वजनिक भएको भी-२३ मोडल रियर ह्वील र अलह्वील ड्राइभमा उपलब्ध छ । दुई भेरियन्टमा आउने एसयूभीको मूल्य भेरियन्ट अनुसार १५ हजार १०० देखि २० हजार ६०० डलरसम्म कायम भएर प्रिसेल बुकिङ खुलेको थियो ।

ग्वान्झाओ अटो शोमा पहिलो पटक देखाइएको भी-२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो ब्याट्री एलएफपी हो भने ठूलो ब्याट्री टर्नरी लिथियम हो । यी दुईको रेन्ज पनि क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।

अफरोड मेसिनलाई पावर दिन पछाडि १०० किलोवाट र अगाडि ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । रियर ह्वील ड्राइभमा १०० किलोवाटको मोटर रहने छ । अलह्वील ड्राइभको संयुक्त पावर १५५ किलोवाट हो ।

अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर पाउन सकिन्छ । जसले गाडीको साउण्ड सिस्टमलाई उत्कृष्ट बनाउने छ । चेरीले आइकार भी-२३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ । ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ ।

गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा भेरियन्ट अनुसार २०० र २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।

एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।

स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।

नेपालमा पनि चेरीको आईकार उपलब्ध छ । तर, कम्पनीले यसलाई जेको ब्राण्डमा ल्याएर बिक्री वितरण गर्दै आएको छ । जे-६ मोडल आईकारको पहिलो मोडल हो ।


Back_to_top