काठमाडौं । नेपाली बजारमा सन् २०२४ सर्वाधिक धेरै कार ब्राण्ड लन्च भएको वर्ष हो । विगतमा जापानी, युरोपियन, कोरियन र भारतीय ब्राण्डको वर्चश्व रहने गरेकोमा यो वर्ष चिनियाँ ब्राण्डको प्रवेशले तीव्रता पायो ।
सन् २०२४ हामी माझबाट बिदा हुन लागिसकेको छ । यस्तोमा बाँकी ५ दिनमा थप नयाँ ब्राण्ड प्रवेश गरिहाल्ने अवस्था छैन । यसकै आधारमा एक वर्षको अवधिमा नेपाल आएका नयाँ ब्राण्डका बारेमा यहाँ चर्चा गर्न खोजिएको हो ।
पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा निकै ठूलो परिमाणमा ईभीको बिक्री सुरू हुन थालेसँगै गाडीको व्यवासायमा नभएका मानिस पनि चीनबाट ईभी ब्राण्ड ल्याउन लागि परे । चाहे पुराना अटोमोबाइल व्यवसायी हुन् वा नयाँ, उनीहरूले चीनबाट ईभी ब्राण्ड ल्याउन तँछाड मछाड गरेर लागे । त्यही कारण धेरै ब्राण्ड नेपाल आए ।
सन् २०२४ मा नेपाल आएका थुप्रै ब्राण्डले सफलता पाए । केही ब्राण्डले चर्चा धेरै व्यापार कम गरे । तर, चिनियाँ ब्राण्डको बाक्लो उपस्थितिसँगै मूल्यमा पनि निकै प्रतिस्पर्धा चल्यो ।
सन् २०२४ मा दीपल, ओमोडा, स्काईवेल, जीकर, जेको, लीपमोटर, अवतार, स्मार्ट, एक्सपेङ, रेडारा, ब्रम्बी, एलईभी, नामी, जेएमईभी, केई ब्राण्डका विद्युतीय गाडी नेपाली बजारमा आए । यी मध्ये केही ब्राण्डले राम्रो सफलता पाएका छन् ।

बिक्री हिसाबले २०२४ मा आएका ब्राण्डमा दीपल, ओमोडा, नामी, जेको, लीपमोटर जस्ता ब्राण्डले राम्रो सफलता पाए । यी ब्राण्डका ईभीमा धेरै उपभोक्ताले चासो देखाए ।
प्रिमियम ब्राण्डहरू जीकर, एक्सपेङ र अवतारले चिनियाँ उत्पादनको गुणस्तरलाई झल्काए । यी ब्राण्डहरूको प्रवेशसँगै चिनियाँ उत्पादनको बजारमा वर्चश्व कायम भएको छ । सन् २०२४ मा नेपाल आएका सबै ब्राण्ड बजारमा टिक्लान् वा समस्यामा पर्लान्, त्यो भने समयले नै बताउला । ब्राण्ड आयातको मामलामा सन् २०२४ उत्कृष्ट बन्यो ।

सन् २०२५ मा पनि नयाँ ब्राण्ड आउने क्रम जारी रहने देखिन्छ । सन् २०२४ मा जस्तो धेरै ब्राण्डहरू नआए पनि कम्तीमा आधादर्जन नयाँ चिनियाँ ब्राण्ड नेपाल आउने तयारीमा छन् ।


