काठमाडौं । जापानी बजारमै बीवाइडीले टोयोटालाई पछाडि पारेको छ । प्योर इलेक्ट्रीक भेहिकलको बिक्रीमा टोयोटालाई पछाडि पार्दै बीवाइडी अगाडि बढेको हो ।
जापानी बजारमा सन् २०२४ मा ५९ हजार ७३६ युनिट अल इलेक्ट्रीक भेहिकल बिक्री भएकोमा बीवाइडीले २ हजार २२३ युनिट बिक्री गरेको हो । जबकी टोयोटाले एक वर्षको अवधिमा केबल २ हजार ३८ युनिट ईभी बिक्री गर्न सक्यो ।
बीवाइडीले अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले बजार बढाउँदा टोयोटाले ३० प्रतिशतले बजार गुमाउन पुग्यो । जापानमा ईभी बिक्रीको तथ्यांक ‘जापान अटोमोवाइल डिलर एशोसिएशन’ले सार्वजनिक गरेको हो ।
अहिले बीवाइडीले जापानमा एटो–थ्री, डल्फीन र सिल मोडल बिक्री गर्दै आएको छ । सन् २०२५ मा कम्पनीले सिलायन–०७ मोडल बिक्री गर्ने जनाएको छ ।
टोयोटाले आफ्नो पहिलो अल इलेक्ट्रीक मोडल बीजेडफोरएक्स मोडल जापानमा बिक्री गर्दै आएको छ । जापानी बजारमा विद्युतीय कारको कुल ५० प्रतिशतभन्दा बढी हिस्सा निसान एक्लैले ओगटेको छ । निसानले सन् २०२४ मा ३० हजार ७४९ युनिट ईभी बिक्री गरेको थियो ।
जापानी बजारमा आयात गरेर बिक्री हुने ईभी ब्राण्डमा टेस्ला सबैभन्दा अगाडि छ भने बीवाइडी दोस्रो स्थानमा देखिएको छ ।

