काठमाडौं । रोयल इनफिल्ड हन्टर ३५० ले ५ लाख यूनिट बिक्री पुरा गरेको छ । बजारमा आएको २.५ वर्षमै ५ लाख युनिट बिक्री पुरा भएको हो ।
कम्पनीले सन् २०२२ अगष्टमा सार्वजनिक गरेको हन्टर ३५० मोटरसाइकल पहिलो ६ महिनामा १ लाख युनिट बिक्री भएको थियो ।
रोयल इनफिल्डले भारतीय बजारमा तीन भेरियन्टमा बिक्री गर्दै आएको हन्टर रेट्रो, मेट्रो र मेट्रो रेवेलमा उपलब्ध छ । इन्ट्री लेभल मिडवेट सेग्मेन्टमा लोकप्रिय हुँदै गएको हन्टर ३५० कम्पनीको ‘जे सिरिज इन्जिन’मा छ । उक्त इन्जिनले २०.२ हर्षपावर २७ एनएम टर्क जेनेरेट गर्छ ।
हन्टर ३५० रेट्रोलाई वेस भेरियन्ट बनाइएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक छ । इन्ट्री भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर छ । यसका अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक र कनेक्टेड फिचरसहित इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।
रोयल इनिफल्ड हन्टर नेपालमा समेत बिक्री भइरहेको मोटरसाइकल हो । रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकलको सुरुवाती मूल्य ४ लाख ५९ हजारदेखि ४ लाख ७५ हजार रुपैयाँसम्म तोकिएको छ ।


