कोरियन अटो उत्पादक कम्पनी कियाले भारतीय बजारमा उत्पादन प्लान्ट लगाएसँगै आफ्नो पहिलो एसपी कन्सेप्ट एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । साथै, कम्पनीले भारतीय बजारमा क्रस ओभर ह्याचव्याक कार उत्पादन गर्ने घोषणासमेत गरेको छ ।
कम्पनीले भारतीय बजारमा उत्पादन गर्ने नयाँ क्रस ह्याचब्याकलाई अटो एक्स्पो २०२० मा सार्वजनिक गर्ने र सन् २०२१को सुरुवातबाट बिक्री वितरण सुरुगर्ने अनुमान गरिएको छ ।
कियाले भारतीय बजारमा उतपादन गर्ने घोषणा गरेको यो तेस्रो मोडल हो । दोस्रो मोडलको रुपमा कम्पनीले माइक्रो एसयूभी २०२० फेब्रुवरीबाट बिक्री वितरण सुरु गर्ने जनाएको छ ।
भारतमा उत्पादन हुने कियाको क्रस ह्याचव्याक कार नेक्स्ट जेनेरेशन रियो ह्याचव्याकको प्ल्याटर्फममा बनाउने अटोकार इन्डियाले उल्लेख गरेको छ । अहिले किया रियो विश्व बजारमा ह्याचव्याक र सेडान दुबै अप्सनमा बिक्री वितरण भइरहेको छ ।
चीन र रुसको बजारमा बिक्री वितरण भइरहेको किया रियो क्रस ह्याचव्याक मोडलमा रहेको छ । यी बजारमा यो कारको नाम भने के–२ क्रस रहेको छ ।
के–२ क्रस रियो भन्दा करिब ४० एमएम लामो र ३० एमएम अग्लो रहेको छ । किया रियोको लम्बाई ४ हजार ४६ एमएम र उचाई १ हजार ७२५ एमएम रहेको छ । भारतीय बजारमा उत्पादन हुने किया क्रस ओभर कार ४ मिटरभन्दा केही छोटो हुने अनुमान गरिएको छ ।
पछिल्लो समय कम्प्याक एसयूभीले बजारमा राम्र्रो गरिरहेको र यो भन्दा केही सानो क्रसओभर कारको बजारपनि राम्रो रहेको अनुमानको आधारमा कियाले दक्षिण एसियाली बजारलाई हेरेर गाडी उत्पादन गर्न लागेको हो ।
अहिले नै कुन इन्जिन र कस्तो ट्रान्समिशनमा गाडी आउने हो भन्ने नखुलाईएपनि १.० लिटर टर्बोचार्ज्ड इन्जिन र ११८ बीएचपी पावरको साथ नयाँ क्रस ह्याचव्याक आउन सक्ने अनुमान गरिएको छ ।

