सस्तो इलेक्ट्रीक ह्याचव्याक कार ल्याउने तयारीमा सुजुकी

काठमाडौं । मारुती सुजुकीले भारतमै विकास गरेको इलेक्ट्रीक ह्याचव्याक कार अहिले परीक्षण भइरहेको छ । कम्पनीले आफ्नो इन्ट्री मोडल ह्याचव्याक कारको मूल्य निकै कम राख्ने अनुमान गरिएको छ ।

भारतमा इलेक्ट्रीक भेहिकल बनाएर विश्व बजारमा निर्यात गर्ने योजना बनाएको मारुती सुजुकी ई–भिटारा बिक्री थाल्दैछ । आगामी महिनाबाट बिक्री सुरु हुने ई–भिटारापछि थप २ मोडल बजारमा ल्याउने छ ।

कम्पनीले ह्याचव्याक कारसँगै इलेक्ट्रीक एमपीभी पनि बजारमा ल्याउने छ । इलेक्ट्रीक एमपीभीसँगै सुजुकीले सन् २०२६ को अन्तिमसम्ममा आफ्नो इलेक्ट्रीक लाइनअपमा तीन मोडल बनाउने छ ।

इन्ट्री लेवल ह्याचब्याक

मारुती सुजुकीले सुरुवातमै इन्ट्री लेबल ह्याचव्याक बजारमा ल्याउने अनुमान गरिएको थियो । कम्पनीले वागेनआरमा आधारित इलेक्ट्रीक मोडल परीक्षण पनि गरेको थियो । तर, टोयोटासँगको साझेदारीसँगै सुरुमै एसयूभी तयार गरेको थियो ।

सुजुकीले पहिलो मोडल ई-भिटारा बजारमा ल्याउने छ । त्यसपछि ‘वाईटुभी’ कोडनेममा परिक्षण भइरहेको ह्याचव्याक कार ल्याउने छ । यो ईभीमा ३५ किलोवाट आवरको ब्याट्री प्याक रहने छ ।

कम्पनीले पहिलो पटक भारतमै डिजाइन र डेभलप गरेको ईभी हुनेछ । जसका कारण यसको मूल्य समेत कम हुने अनुमान गर्न सकिन्छ । मिडिया रिपोर्टहरुका अनुसार वाईटुभी इलेक्ट्रीक ह्याचव्याक सुजुकीको ईडब्लुएक्स कन्सेप्टमा आधारित हुनेछ । कम्पनीले ल्याएउने ह्याचव्याक कारको प्रतिस्पर्धा टाटा टियागो ईभी र एमजी कोमेट जस्ता इन्ट्री लेभल मोडलसँग हुनेछ ।

इलेक्ट्रीक एमपीभी

मारुती सुजुकीले भारतीय बजारको लागि नयाँ इलेक्ट्रीक एमपीभीमा समेत काम गरिरहेको छ । यो एमपीभी आगामी वर्षबाट बिक्री सुरु हुने अनुमान गरिएको छ । सुरुवातमा वाईएमसी कोडनेम दिएको एमपीभी ई-भिटाराकै प्लेटफर्ममा बन्ने अनुमान गरिएको छ ।

सात सिट क्षमतामा आउने इलेक्ट्रीक एमपीभीमा पावरट्रेन समेत ई-भिटाराकै हुनेछ । कम्पनीले भारतमा ७ सिटे इलेक्ट्रीक एमपीभी वार्षिक ५० हजारदेखि १ लाख यूनिटसम्म बिक्री हुने अनुमान गरेको छ ।


Back_to_top