काठमाडौं । युरोपीयन अटो ब्राण्ड स्कोडाले आगामी सेप्टेम्बरसम्ममा भारतमा इलेक्ट्रीक भेहिकल लन्च गर्ने भएको छ । यसअघि इन्याक मोडलको ईभी लन्च गर्ने योजना बनाएको कम्पनीले एकै पटक ३ वटा ईभी लिएर भारत प्रबेश गर्ने भएको हो ।
स्कोडाले भारतमा एलरक, इन्याक र इन्याक कुप्पे गरी ३ मोडल एक साथ ल्याउने भएको हो । स्कोडा अटो इन्डियाका ब्राण्ड डाइरेक्टर पिटर जेनेबाले यसै बर्षको सेप्टेम्बरसम्ममा ईभी लन्च गर्ने जानकारी दिएका हुन् । उनले नै एकै साथ ३ मोडल लन्च गर्ने बताएको हुन् ।
गत महिना मात्र फेसलिफ्ट भएको इन्याकको साइज भारतमा छिटै बिक्री सुरु हुने टाटा ह्यारियर ईभी जत्रै छ । सिंगल मोटरमा रियर ह्वील ड्राइभ र ड्यूल मोटरमा अलह्वील ड्राइभ अप्सनमा आउने इन्याकमा ८२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसको डब्लुएलटीपी रेन्ज ५७८ किलोमिटर रहने छ ।
इन्याकको अर्को कुप्पे मोडल पनि गत महिना फेसलिफ्ट भएको थियो । कुप्पे डिजाइन भएकोले यो मोडल थप एरोडायनामिक्स रहेको छ । यसको डब्लुएलटीपी रेन्ज ५८७ किलोमिटर छ ।
स्कोडाको अर्को मोडल एलरक डिजाइन र साइज अनुसार कम्प्याक्ट एसयूभी हो । यसलाई कम्पनीले इन्याकभन्दा तल राखेर बिक्री थाल्नेछ । यसमा पनि सिंगल मोटरमा रियर ह्वील ड्राइभ र ड्युल मोटर अल ह्वील ड्राइभमा उपलब्ध छ ।
युरोपीयन निर्माताले यसमा ५५, ६३ र ८२ किलोवाटको ब्याट्री प्याक दिएको छ । एलरक ईभीको अधिकतम डब्लुएलटीपी रेन्ज ५८० किलोमिटर रहेको छ ।
स्कोडाको सबै इन्याक, इन्याक कुप्पे र एलरक ईभीमा एलइडी म्याट्रिक्स हेडलाइट, २१ इन्चको अलोय ह्वील, डायनामीक च्यासिस कन्ट्रोल, भेरियबल रेसियो प्रोगेसिभ स्टेरिङ, मसाज फ्रन्ट सिट, १३ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर छन् ।
भारतमा बिक्री सुरु भएसँगै स्कोडाका इलेक्ट्रीक मोडलहरु नेपाल पनि आउने छन् । तर, ठ्याक्कै कुन मितिबाट नेपाली बजारमा उपलब्ध हुन्छन्, अहिल्यै एकिन साथ भन्न सकिदैन । अर्को कुरा नेपालमा कति मूल्यमा आउँछ, त्यसले पनि बजारमा पार्ने प्रभाव निर्भर हुन्छ ।


