टाटाको मोस्ट वेटेड ह्यारीयर भारतमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । लामो समयको पर्खाइपछि टाटा मोटर्सले बहुप्रतिक्षीत ह्यारीयरको सार्वजनिक गरेको छ । टाटा मोटर्सले ल्यान्डरोभर डिस्कभरी स्पोर्टको डिजाइन कन्सेप्टमा निर्माण भएको हो । 

यसअघिकाे मिडिया अनुमान जस्तै यसको मूल्य १२ लाख ७० हजार रुपैयाँबाट सुरु भएर टप भेरियन्टको मूल्य १६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यसको सिधा प्रतिस्पर्धा भारतीय एसयुभी मार्केटमा हुन्डाईको क्रेटा, जीपको कम्पास, महिन्द्रा एक्सयूभी ५०० र निशान किक्ससँग हुने देखिएको छ । 

टाटाको इम्प्याक डिजाईन २.० मा आधारीत यो एसयूभीले राम्रो बजार लिनेमा टाटा मोटर्स सक्षम हुने कम्पनीले दावी गरेको छ । टाटा मोटर्सको उत्पादनको रुपमा यो निकै स्टाईलिस, दमदार र टाटाको प्यासेन्जर यूनिटमै गेमचेन्जर प्रिमियम एसयूभी बन्न सक्ने अनुमान गरिएको छ ।

टाटा मोटर्सले यसमा फियाट क्राइसलरले निर्माण गरेको २.० लिटरको मल्टीजेट डिजल इन्जिनको प्रयोग गरेको छ । जुन जीप कम्पासमा पनि सफलतापूर्वक प्रयोग भइसकेको इन्जिन हो । 

यसमा रहेको टर्बो चार्ज्डसहित चार सिलिण्डर युक्त इन्जिनले १४० बिएचपी पावर तथा ३५० एनएम टर्क उत्पादन गर्नेछ । ह्यारीयर ६ स्पिडको म्यानुअल ट्रान्समिसन गियरबक्समा उपलब्ध रहेको छ । 

अगाडिबाट हेर्दा ह्यारीयरमा तिन स्टेपको वम्पर रहेको छ । जसमा सबैभन्दा माथि फैलिएको यूसेपको ग्रिल दुबै साइडमा गएर एलइडी लाईटमा टुङ्गीएको छ । यो एलइडी लाइटनै टर्न इन्डिकेटर अन गर्दा पहेलो रङ्गमा टनिङ्ग इन्डिकेटर बल्नेछ । 

हेडलाइटमा जेनुयन प्रोजेक्टर ल्याम्पको साथमा रेगुलर बल्ब पनि रहेको छ । एसयूभीको साइड प्रोफाइल हेर्दा डिसेन्ट लुक्स देख्न सकिन्छ । यसमा १७ इन्चको अलोय ह्वील दिइएको गाडीमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । 

यसको रुफ फ्टीङ्ग डिजाइनमा रहेको छ जसमा धेरै ठाँउमा क्रोमको प्रयोग गरिएको छ । पछाडिबाट हेर्दा ह्यारीयर धेरै हदसम्म ल्याण्डरोभर जस्तो देखिन्छ । 

रियर विण्डोमा डिफोस्टर तथा वाइपर र माथि स्पोइलर रहेको छ । पछाडि बिचमा कालो कलरको प्लेट लगाएर त्यसमा टाटाको लोगो राखिएको छ । यसैमा रियर पाकिङ्ग क्यामरा समेत तल पट्टी रहेको छ ।

माथि छतमा सार्क फिन एन्टेना रहेको छ भने, पछाडिका लाइटहरु एलइडी रहेका छन् । नम्बर प्लेटको तल ह्यारीयरको व्याजीङ्ग रहेको छ । ह्यारीयरको लम्बाई ४५७५ एमएम, चौडाई १९६० एमएम र हाईट १६८६ एमएम रहेको छ भने कम्पासको लम्बाई ४३९५, चौडाई १८१८ एमएम र उचाई १६४० एमएम रहेको छ ।

कम्पनीले आफ्नो प्रिमियम एसयूभीमा डियुल–टोन प्रिमियम ड्यासबोर्ड दिएको छ । जसमा ब्ल्याक र ब्राउन कलरले फिनिसिङ गरिएको छ । ह्यारीयरमा ८.८ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । 

यसमा हर्मन म्युजिक सर्पोट गर्छ भने नौवटा जेबीएलको स्पिकरको प्रयोगले म्युजिक पारखीलाई अकर्षित गर्ने नै छ । 

त्यस्तै अन्य फिचरहरुमा अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, मल्टी एङ्गल क्यामेरा डिस्प्लेलगायतका छन् । सुरक्षका लागि इबीडीसहितको एबीएस तथा रियर पार्किङ्ग सेन्सर स्ट्याण्डर्डको रुपमा सबै भेरियन्टमा उपलब्ध रहेको छ । 

सुरक्षाको लागि आइएसओ फिक्स चाइल्ड सिट माउन्ट्स, ६ वटा एयरव्याग, कर्नर स्ट्याबिलीटी कन्टोल, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, रोलओभर मिटिगेसन र अफ रोड एबीएस पनि रहेको छ । 

बिभिन्न ४ भेरियन्टहरु एक्सई, एक्सएम, एक्सटी र टप भेरिएन्टमा एक्सजेडमा टाटा ह्यारियर उपलब्ध हुनेछ । 

टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता सिप्रद्धी ट्रेडिङ प्रालिले भारतमा लन्च भएको दुई तीन महिनामै नेपाली बजारमा ह्यारीयर ल्याउने जानकारी दिएको छ ।


Back_to_top