काठमाडौं । चिनियाँ ब्राण्ड डोङफेङ र युरोपियन स्टेलान्टीस ग्रुपको संयुक्त लगानीमा ‘हेडमोस’ ब्राण्डबाट न्यू इनर्जी भेहिकल उत्पादन सुरु हुने भएको छ । कम्पनीले नयाँ ब्राण्डबाट इलेक्ट्रीक एसयूभी यहि अप्रिल महिनामा सार्वजनिक गर्न लागेको हो ।
उसोत डोङफेङ प्यूजो-सिट्रोन अटोमोवाइल कम्पनी चीनको वुहान राज्यमा रहेको पुरानो कम्पनी हो । यसले युरोपियन ब्राण्डका कार चीनमा उत्पादन र बिक्री वितरण गर्दै आएको छ । सन् २०१५ सम्म यो कम्पनीले वार्षिक ७ लाख युनिटभन्दा माथि कार चीनमा बेच्दै आएको थियो । तर, २०१९ मा नै बिक्री घटेर वार्षिक ५० हजार युनिटमा सिमित भएको थियो ।

कम्पनीले हेड र मोस्ट मिलाएर हेडमोस नाम राखेर नयाँ ब्राण्ड स्थापना गरिएको हो । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ‘फुकाङ-०६’ राखेको छ । यसको मूल्य १३ हजार ७०० अमेरिकी डलरदेखि २० हजार ६०० डलरसम्म कायम गरेर बिक्री गर्ने भएको हो । चिनियाँ उपभोक्ताले मे महिनाबाट डेलिभरी पाउने छन् ।
हेडमोसको लोगो पनि निकै अनौठो छ । कम्पनीले उत्तर दिशा संकेत गर्ने कम्पासको सुई आकारमा यसलाई विकास गरेको छ । जसले दिशा निर्देशन गर्ने र अज्ञातको अन्वेषण झल्काउने छ ।
फुकाङ-०६ को लम्बाइ ४६७० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६१७ एमएम छ । यसमा १६० किलोवाटको मोटर रहने बाहेक अन्य जानकारी बाहिर आएको छैन ।

