काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ९ हजारभन्दा बढी सवारीसाधनले हरियो स्टीकर सटिफिकेट पाएका छन् । सवारी परीक्षण कार्यालय टेकुकाअनुसार चालु आर्थिक वर्षमा १० हजार ३ सय ४९ सवारीले हरियो स्टीकर लिनको लागि प्रदुषण चेक गराएका छन् । त्यसमध्ये ९ हजार ३ सय ८२ सवारीसाधनले फिटनेस टेस्ट सटिफिकेट लिएको सवारी परीक्षण केन्द्र टेकुका कार्यालय प्रमुख रामचन्द्र पौडेलले बताए ।
आर्थिक वर्षको पहिलो महिनामा १ हजार ७ सय ९८ सवारीसाधन प्रदुषण चेकको लागि आएका थिए भने तीमध्ये १ हजार ६ सय ८२ सवारीले परीक्षण पास गरेका थिए ।
भदौ महिनामा २ हजार २ सय १० मध्ये १ हजार ८ सय ७१ सवारीहरू प्रदुषण परीक्षणमा सफल भए भने, असोज महिनामा २ हजार १३ मध्ये १ हजार ८ सय १३ सवारीले हरियो स्टीकर पाए ।
कात्तिक महिनामा १ हजार १ सय ७१ वटामध्ये १ हजार ५७ वटा सवारीले र मंसिर महिनामा १ हजार ५ सय ६६ वटामध्ये १ हजार ३ सय ७९ वटा सवारीले परीक्षण पास गरेका थिए ।
यस्तै, पुस महिनामा १ हजार ५ सय ९१ वटामध्ये १ हजार ५ सय ८० वटा सवारीले सटिफिकेट पाएको सवारी परीक्षण कार्यालयले जानकारी दिएको छ ।
१ सय ८ बढी धुवा फाल्ने सवारीलाई कारवाही
यसैगरी, चालु आर्थिक वर्षको ६ महिनामा १ सय ८ बढी धूवा फाल्ने सवारीसाधन कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार सवारीसाधनबाट निस्किने प्रदूषण चेकजाँचमा कडाईपछि १ सय ८ वटा सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको हो ।
यसरी कारबाहीमा पर्नेलाई ५ सय रुपैयाँ जरिवानाकासाथै उक्त व्यक्तिको लाइसेन्स सर्भिस जाँचपछिमात्र फिर्ता गर्ने गरेको महानगरिय प्रहरी प्रमुख एसएसपी वसन्तकुमार पन्तले बताए ।
‘हामी कारबाहीमात्र हैन, पत्र पठाएर ईएमटी शाखामा चेकजाँच गराएपछि स्टीकर टाँसेर ल्याएपछिमात्र सवारी सञ्चालनका लागि लाइसेन्स दिन्छाँै,’ मेरोअटोसँग पन्तले भने ।
एकपटक हरियो स्टीकर लगाएपछि ५ महिनापछिमात्र त्यसलाई पूर्ण चेकजाँच जरिन्छ । गाडीले कार्बोन इमिसन कति फाल्छ भनेर चेकजाँच गर्नुपर्ने र त्यो सफा आएपछिमात्र हरियो स्टीकर दिने गरिन्छ ।
गतवर्ष ४ हजार ७ सय सवारीसाधनलाई यस्तो कारबाही गरिएको थियो ।

