काठमाडौं । ईभीको मूल्य र कर्जा अनुपातमा कडाइ भएसँगै ब्यवसायीहरु अर्थमन्त्रालय र राष्ट्र बैंक धाउन थालेका छन् । डाउन पेमेन्ट वापत गर्नु पर्ने रकम ठ्याक्कै दोब्बर भएसँगै ईभीको बिक्री घट्ने भन्दै सरोकारवालालाई सच्याउन ब्यवसायीले दबाब दिइरहेका हुन् ।
उता पेट्रोल र डिजेल कार बिक्री गर्ने कम्पनीहरुले २० प्रतिशत डाउन पेमेन्ट र कम ब्याजदरको स्कीम नै चलाउँदै आएका छन् । प्रिमियम एसयूभी ब्राण्ड जीपले २० प्रतिशत डाउन पेमेन्टमा नै कार दिने स्कीम चलाई रहेको छ । जीपले ब्यक्तिको नाम या ब्यवसायको नाम जुनसुकैबाट किने पनि २० प्रतिशत डाउन पेमेन्टमा गाडी दिने जनाएको छ ।

कम्पनीका अनुसार जीपका एसयूभी किन्ने उपभोक्ताले मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्न पाउने छन् । कम्पनीको हकमा ७० प्रतिशत बैंकले लगानी गर्ने भएको कारण ग्राहकले १० प्रतिशत बाँकी रकम कम्पनीसँगको आपसी समक्षदारीमा पछि तिर्नेगरी गाडी लान सक्नेछन् ।
ब्यक्तिको नाममा किन्दा थप २० प्रतिशत रकमको लागि समझदारी कायम गर्नु पर्ने हुन्छ । यसले गाडी किन्ने उपभोक्तालाई तत्काल पर्ने आर्थिक भार कम हुन्छ ।
यस्तै किसिमको अफर स्कोडाले पनि गरेको छ । स्कोडाले पनि २० प्रतिशत डाउन पेमेन्टमा गाडी दिनेछ । अझ स्कोडाको गाडी किन्दा ब्याजदर पनि तुलनात्मक रुपमा कम तिर्दा पुग्छ ।
स्कोडाले ६.९९ प्रतिशत ब्यादरमै कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । यस बाहेक होन्डाले पनि २० देखि ३० प्रतिशत डाउन पेमेन्टमा गाडी उपलब्ध गराउँदै आएको छ । होन्डाका गाडी किन्ने ग्राहकले स्याकार इन्भेष्टमेन्टबाट पनि कर्जा सुविधा पाउने छन् ।


