काठमाडौं । विश्व प्रसिद्ध जर्मन कार ब्राण्ड अउडी प्रिमियम गाडी उत्पादनमा कहलिएको कम्पनी हो । अउडीले सन् १९९८ मा उत्पादन सुरू गरेर २०२३ मा बन्द गरेको स्पोर्टस् कार बन्द भएको दुई वर्षपछि ईभीमा आउने चर्चा सुरू भएको छ ।
दुई ढोका भएको फ्रन्ट ह्वील ड्राइभ स्पोर्टस् कार २५ वर्षमा विश्वभर ६ लाख ६२ हजार ७६२ युनिट बिक्री भएको थियो । उक्त बिक्री संख्याले ‘टीटी’ मोडलको लोकप्रियतालाई दर्शाउँछ । यही लोकप्रिय मोडललाई अउडीले अब इलेक्ट्रीकमा ल्याउने विषयले अहिले चर्चा पाएको छ ।
कम्पनीले टीटी मोडललाई फेरि ल्याउन लागेको प्रसंग भने अटो एक्सप्रेसले लिएको अउडीका सीईओ ग्रिनोट डोल्नारको अन्तर्वार्ताले संकेत गरेको हो । उनले कुराकानीको क्रममा भने, ‘टीटी एक आइकोनिक कार हो । अउडीसँग निश्चित रूपमा स्पोर्टस् कार हुनुपर्छ ।’
पत्रकारले यसलाई कुन इन्धनको प्रयोगबाट चल्ने गरी ल्याउँदा ठिक हुन्छ भन्ने प्रश्न गर्दा डोल्नारले भने, ‘यदि ट्रयाकमा वास्तविक रेसिङ कार जसरी चलाउने हो भने आइसी इन्जिन र हाइब्रिड ठिक हुन्छ । होइन नियमित सडकमा चलाउने हो भने ईभी राम्रो हुन्छ ।’
अउडीले टीटीलाई पेट्रोलियम पदार्थमा आधारीत रहेर बनाउने योजना गरेको खण्डमा फक्सवागेन गल्फले प्रयोग गरेको एमक्यूबी प्लेटफर्म र ईभी बनाएको खण्डमा एमईबी प्लेटफर्मको प्रयोग गर्नेछ । फक्सवागेनले एमइबी प्लेटफर्ममा आइडी थ्री र अउडी क्यू ४ ई-ट्रोन जस्ता मोडल उत्पादन गर्दै आएको छ ।
अझ पोर्श्च र अउडी मिलेर विकास गरेको पीपीई आर्किटेक्चरमा पनि टीटी स्पोर्टस् मोडल नआउला भन्न सकिँदैन ।


