काठमाडौं । मार्च २०२५ मा बजारमा आएका तीन एसयूभी बीच कडा टक्कर हुने देखिएको छ । यी तीन वटै एसयूभी निकै प्रतिक्षा गरिएको मोडल थियो ।
मार्च महिनामा आएका एसयूभीमा एमजी एस-५, इमास-७ र क्रेटा इलेक्ट्रीक आ-आफ्नै विशेषता भएका मोडल हुन् । यी तीन मोडलमा रहेका विशेषता पनि आफ्नै प्रकारका छन् ।
विद्युतीय कारको ‘हट स्पट’ बनेको नेपाली बजारमा फरक-फरक ब्राण्डले ल्याएका एसयूभीको चर्चा हुनु स्वाभाविक हो । यस्तोमा एकै महिना आएका तीन मोडलले कस्तो व्यापार गर्छ, त्यो थाहापाउन भने कुर्नु पर्ने हुन्छ ।
एकै महिना बजारमा आएका तीन एसयूभी मध्ये सबैभन्दा चर्चित मोडल हुन्डाई क्रेटा हो । नेपाली बजारमा विगत १० वर्षदेखि निरन्तर बिक्री हुँदै आएको क्रेटा इलेक्ट्रीकमा आएसँगै चर्चा धेरै भएको हो ।

क्रेटासँगै बजारमा प्रवेश अगाडि नै धेरै चर्चा भएको मोडल एमजी एस-५ पनि हो । एमजी एस-५ बुकिङ खोलेपछि थप चर्चामा छ । सुरूवाती मूल्य नै ४३ लाख ९९ हजार रुपैयाँ कायम भएर आएको एस-५ ह्याचब्याक कारको जस्तो मूल्यमा उपलब्ध छ ।
क्रेटा ईभीको थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
ठूलो मोटर साइजमा ल्याएर पनि प्रतिस्पर्धी मोडलमा रहेको ९९ किलोवाटको सरह मूल्यमा उपलब्ध गराएको इमास-७ चर्चा कम भएपनि उत्कृष्ट एसयूभी हो । प्रोटोन ब्राण्डमा आएको कारण अन्तर्राष्ट्रिय बजारमा पनि इमासको नाम खासै ठूलो बनेको छैन । तर, जिली ब्राण्डको ग्यालेक्सी ई-५ मोडल नामबाटै आएको भए यसको चर्चा पनि खुबै हुन्थ्यो ।
मूल्यमा फरक
मूल्यका हिसाबले सबैभन्दा महँगो मोडल प्रोटोन इमास-७ हो । यसलाई जगदम्बा मोटर्सले दुई मोडल उपलब्ध गराएको छ । यसको इन्ट्री प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
इमास-७ को टप भेरियन्ट प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
त्यसपछिको महंगो मोडल हुन्डाई क्रेटा ईभी हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विभिन्न चार भेरियन्टमा क्रेटा ईभी बजारमा उतारेको छ । इलेक्ट्रीक क्रेटाको एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले स्मार्ट भेरियन्टको ५४ लाख ९६ हजार, स्मार्ट (अप्सनल) भेरियन्टको ५६ लाख ९६ हजार र टप भेरियन्ट प्रिमियम प्लस भेरियन्टको ५९ लाख ९६ हजार रुपैयाँ कायम गरेको हो ।

एमजी एस-५ पनि तीन फरक भेरियन्टमा पाउन सकिन्छ । कम्पनीले ४९ किलोवाट आवरको ब्याट्री भएको कम्फर्ट भेरियन्टको मूल्य ४३ लाख ९९ र लग्जरी भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । ६२ किलोवाट आवरको ब्याट्री भएको लग्जरी भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ छ ।
मोटर पावरमा फरक
मोटर पावरको आधारमा पनि प्रोटोन इमास-७ पावरफुल छ । यसमा १६० किलोवाट क्षमताको मोटर छ । जबकि हुन्डाई क्रेटा र एमजी एस-५मा समान ९९ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।
ब्याट्री साइज
अहिले नेपाली बजारमा उपलब्ध हुन्डाई क्रेटा तीन मोडल मध्ये सबैभन्दा सानो साइजको ब्याट्री भएको एसयूभी हो । तर, यसमा एलजीले उत्पादन गरेको हाइडेनसिटी क्षमता भएको एनसीएम ब्याट्री दिएको छ । यसमा रहेको ब्याट्री ४२ किलोवाट आवरको छ ।

प्रोटोन इमास-७ मा ४९.५ र ६०.२ किलोवाट आवर क्षमताको सर्टिज एज ब्लेड ब्याट्री प्रयोग गरेको छ ।
एमजी एस-५ मा पनि ४९ र ६२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसमा रहेको ब्याट्री प्याक संसारकै सबैभन्दा पातलो छ ।

