काठमाडौं । भारतमा ओला स्कुटरलाई पछि पार्दै लगातार नम्बर १ कम्पनी भइरहेको बजाजको चेतक इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ ।
बजाजको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर चेतकको लागि कम्पनीले काठमाडौंको नक्सालमा छुट्टै शोरुम बनाउने तयारी थालेको हो ।
भारतमा पछिल्लो केही महिना यता पहिलो स्थानमा रहँदै आएको बजाज चेतक नेपालमा पनि सर्वाधिक बिक्री हुने स्कुटर बन्ने अनुमान गरिएको छ ।
बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले लामो समयदेखि इलेक्ट्रीक स्कुटरका लागि बजार सर्वेक्षण गर्दै आएको छ । यस दौरान बजाज मोटर्सबाट समेत इलेक्ट्रीक युनिटका कर्मचारीहरू समेत नेपाल आइसकेको छन् ।
बजाजको नेपालभर रहेको नेटवर्कको फाइदा चेतकलाई हुने अनुमान गर्न सकिन्छ । अहिले नेपाली बजारमा गुणस्तरीय स्कुटरको कमि, पार्टस तथा सर्भिमा समस्या हुँदा इलेक्ट्रीक स्कुटरले राम्रो व्यापार गर्न सकिरहेको छैन।
भारतीय बजारमा विभिन्न भेरियन्टमा उपलब्ध रहेको चेतकको कुन भेरियन्ट नेपालमा सार्वजनिक हुन्छ भन्ने जानकारी बाहिर आएको छैन । अहिले बजाजका सबै मोटरसाइल नेपालमै एसेम्बल हुँदै आएका छन् । यस्तोमा बजाजले चेतक नेपालमै एसेम्बल गर्छ कि तयारी लिएर आउँछ अहिल्यै एकिन भएको छैन ।
बजाजले पछिल्लो पटक सार्वजनिक गरेको चेतक स्कुटर ३५०१, ३५०२ र ३५०३ भेरियन्ट उपलब्ध छ । यी स्कुटरको मूल्य १ लाख २० हजार भारतीय रुपैयाँबाट सुरू हुन्छ ।
बजाजले चेतक स्कुटरको नयाँ मोडलमा नयाँ फ्रेमको प्रयोग गरेको छ । नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ । कम्पनीले फ्लोरबोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि भएको छ । यसको रेन्ज १५३ किलोमिटर पुगेको कम्पनीको दावी छ ।
यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।

