काठमाडौं । सरकारले एक महिना अगाडि ‘सवारी तथा यातायातको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, २०८१’सुझावको लागि सार्वजनिक गरेको थियो । त्यसमा विभिन्न किसिमको जरिवानाको प्रस्ताव गरिएको छ ।
सुन्दा सामान्य लाग्ने कसुरमा पनि राम्रै जरिवानाको ब्यवस्था गरिएको छ । चालकले धुम्रपान गर्दै सवारी साधन चलाएमा १ हजार रुपैयाँ जरिवाना गर्न सकिने ब्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ ।
चालकले ओभरटेक गर्न नहुने स्थानमा ओभरटेक गरेमा २ हजार रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । साथै, लेन अनुसासन कायम नभए एक हजार रुपैयाँ र रातोबत्ती बल्दा जबर्जस्ती सवारीसाधन चलाएमा २ हजार जरिवाना लाग्ने ब्यवस्था गरिएको छ ।
हतार भयो भन्दै फुटपाथमा सवारी साधन चलाएमा १ हजार तत्कालै जरिवाना तिर्नु पर्ने हुन्छ । यदि, झुक्केर वानवेमा गाडी चलाउन पुग्नु भयो भने ड्युटीमा रहेका ट्राफिक प्रहरीले तपाईलाई १ हजार रुपैयाँ जरिवाना गराउने छन् ।
कसैले ल्याएर तपाईलाई चोरीको साधन दियो र तपाई समातिनु भयो भने तपाईले ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ । त्यसैले सुन्दा सामान्य लाग्ने गल्तीमा पनि तपाईले मोटै रकम तिर्नु पर्ने हुन्छ ।
उपत्यकामा अहिले पनि हर्न निषेध गरिएको छ । उपत्यका बाहिर हर्न निषेधित क्षत्रमा हर्न बजाएमा ५०० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
अहिले धेरैले सवारी साधनबाट बाहिर फोहोर फाल्ने गरेको हामी देख्छौं । अब यसरी सवारी साधनबाट फोहोर फालेमा चालक र यात्रुलाई पनि १ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ ।
माथिका बाहेक सवारी साधन चलाउँदा मोवाइल प्रयोग गरेमा एक हजार रुपैयाँ, हेलमेट नलगाई दुई पाङ्ग्रे साधन चलाएमा एक हजार रुपैयाँ र ढोका खुल्ला राखेर सवारी साधन चलाएमा ५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
जताततैबाट बाटो काट्नेहरुको ठूलो जमात यहाँ छ । त्यसैले सडक यात्रुले तोकिएको स्थानभन्दा अन्य ठाँउबाट बाटो क्रस गरेमा ५०० रुपैयाँ जरिवाना तिर्नु पर्ने प्रस्ताव गरिएको छ ।

