काठमाडौं । युरोपियन जाइन्ट स्टेलान्टीस ग्रुप अन्तर्गतको सिट्रोन, प्यूजो र चिनियाँ साझेदार डोङफेङ मिलेर नयाँ ब्राण्ड घोषणा गरेका छन् । नयाँ ब्राण्डका नाम ‘हेडमोस’ राखेर पहिलो एसयूभी बजारमा ल्याउने घोषणा भएको हो ।
चीनमा डोङफेङ र स्टेलान्टीस बीचको साझेदारी ३३ वर्ष पुरानो हो । उनिहरुले २०१९ मा हेडमोस नामबाट नयाँ ब्राण्डको ट्रेडमार्क दर्ता गराएका थिए । उनिहरुले यही मार्च ३ मा हेडमोस ब्राण्ड घोषणा गरेका थिए ।

कम्पनीले नयाँ ब्राण्डमा पहिलो एसयूभी हेडमोस-०६ बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने पहिलो एसयूभीको लम्बाइ ४६७० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६१७ एमएम रहनेछ । यसमा २७७५ एमएम लामो ह्वील वेस दिइएको छ ।
डोङफेङको ‘डीएसएमए आर्किटेक्चर’मा बनेको हेडमोस-०६ मा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । कम्पनीले यसमा ६२.३ किलोवाट आवरको ब्याट्री रहने एसयूभीले ४२० किलोमिटर हाराहारी रेन्ज दिनेछ ।

मिनिमलिस्टीक डिजाइन थिममा तयार भएको क्याविनमा १०.२ इन्चको इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्टरटेन्टमेन्ट सिस्टम दिइएको छ । कम्पनीले यसको मूल्य १६ हजार ५०० अमेरिकी डलर कायम गरेर बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।
हेडमोस ब्राण्डको पहिलो एसयूभीलाई कम्पनीले मे महिनाको अन्तिमबाट बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ ।
नेपाल पनि आउने सम्भावना धेरै
पछिल्ला दिनमा चीनमा उत्पादन भएका अधिकांश ब्राण्डका कार नेपाल आइरहेका छन् । त्यसमाथि नेपालमा स्टेलान्टीसको उपस्थिति पहिल्यैदेखि छ ।
स्टेलान्टीसको सिट्रोन, प्यूजो, लीपमोटर जस्ता उत्पादन साँग्रिला मोटर्सले बिक्री गर्दै आएको छ । साथै, जीप ब्राण्डका उत्पादन भने एमएडब्लू लाइफले बिक्री गर्दै आएको छ ।
डोङफेङ ब्राण्ड पनि नेपालमा छ । अहिले डोङफेङ नामी एमएडब्लू वृद्धि र डोङफेङ फरथिङ लक्ष्मी इमोविलिटीले नेपाल ल्याएर बिक्री गर्दै आएका छन् । यस्तोमा यी नै आयातकर्ता मध्ये एकले हेडमोस ब्राण्ड नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

