काठमाडौं । मानिसको मनमा के चलिरहेको छ भन्ने बुझ्न विभिन्न एजेन्सीहरूले सर्भे गर्छन् । यसरी सर्भे गर्ने एजेन्सीहरूले लाखौं मानिससँगको कुराकानीलाई आधार मानेर रिपोर्ट बनाउँछन् ।
अटोमोबाइलको लागि सजिलो मानिने अमेरिकी बजारमा कार लोनलाई धेरैले ट्रयाप मान्न थालेको सर्वेक्षणले देखाएको छ । एडमन्ड्स रिसर्च एजेन्सीका अनुसार २० प्रतिशत अमेरिकी नागरिक विवाहभन्दा पनि कठिन ट्रयाप अटोलोनलाई मान्छन् ।
नेपालमा जस्तै अमेरिकामा पनि कार लोन ७ वर्ष (८४ महिना) कै चल्ने गरेको छ । सर्भेमा सहभागी २० प्रतिशत मानिसले विवाहपछि डिभोर्स गर्न सजिलो भए पनि कार लोन छुटाउन नसकिने बताएका थिए ।
नयाँ कारको खुम्चँदो बजारलाई मध्यनजर गर्दै एडमन्ड्सले रिसर्च गरेको जनाएको छ । उसले रिपोर्टमा लेखेको छ, ‘मानिसहरू नयाँ सवारी साधन किन्नको लागि आफ्नो वित्तीय अवस्था बलियो बनाउन खोजिरहेका छन्, त्यो चाँडै सहज हुने देखिँदैन ।’
अमेरिकी अर्थतन्त्र शिथिल बन्दै गएको परिप्रेक्षमा रिसर्चमा समेटिएका १७ प्रतिशत मानिसले मात्रै मासिक १ हजार डलरभन्दा बढी किस्ता तिर्न सक्ने अवस्था रहेको बताए । यतिसम्मकी शून्य प्रतिशत ब्याजदरको स्कीमले पनि केबल १.१ प्रतिशत मानिसलाई मात्रै तानेको छ ।
ट्रम्प प्रशासनले सबै किसिमका आयातित कार र पार्टपुर्जामा २५ प्रतिशत कर बढाएको छ । यसले कार अझै महँगो हुने र नयाँ खरिदकर्ता थप सोच्न बाध्य हुने एडमन्ड्सकी हेड अफ इनसाइड जेसिका काल्डवेले बताइन् ।


